जनमत पार्टीको उपाध्यक्ष मनोनयनप्रति गम्भीर आपत्ति

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा हालै भएको दुई राष्ट्रिय उपाध्यक्ष नियुक्तिप्रति स्थायी समिति सदस्य ई.दीपक कुमार साहले गम्भीर आपत्ति जनाएका छन् ।

ई.साहले बिहीबार एक विज्ञप्ति जारी गरी पार्टी डा.राउतले आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्धरूपमा नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिलाई गम्भीर रूपले क्षति पुर्याएको बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘२०७७ सालमा श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा मनोनयन गरी प्रदेश सभाको उपसभामुख बनाउने निर्णयले सुरु भएको पारिवारिक प्राथमिकताको क्रम अहिले पुनः अध्यक्षज्यूका दाजु डा. जय कान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाइएसँगै झन् प्रष्ट भएको छ । विगतमा उहाँलाई सांसदको उम्मेदवार, योजना आयोगको सदस्य, राष्ट्रिय परिषदको अध्यक्ष, र संगठन विभागको प्रमुखजस्ता पदहरूमा क्रमशः जिम्मेवारी दिइएको थियो। यसले संगठनभित्र गहिरो असन्तुलन, पात्रको उपेक्षा र कार्यकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको छ ।’

जनमत पार्टी स्थापना र संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इ. कबिन्द्र यादव, इ. सुरेन्द्र नारायण यादवलगायतका समर्पित व्यक्तित्वहरूलाई उपेक्षा गर्दै पारिवारिक व्यक्तिहरूलाई निरन्तर नेतृत्वमा ल्याउने परिपाटीले “परिवारवाद“लाई संस्थागत बनाउने संकेत देखिएको उनले आरोप लगाएका छन् । 

उनले भनेका छन्, ‘स्थायी समिति सदस्य तथा उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु दान बहादुर चौधरी जो हालसम्म पार्टी विरोधी गतिविधिमा संलग्न रहँदै अन्य दलहरूसँग आबद्ध रहनुभएको थियो, उहाँलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइनु—पार्टीका आन्तरिक मूल्य, आदर्श माथिको गम्भीर प्रहार हो ।’

ई.साहले जारी गरेको विज्ञप्तिको अंशः

अतः, म निम्न विषयमा पार्टी नेतृत्व समक्ष स्पष्ट र कडा आग्रह गर्न चाहन्छु—

१. संघर्ष र समर्पणका आधारमा नेतृत्व विकासको सुनिश्चितता होस्, पारिवारिक सञ्जालका आधारमा पद बाँडफाँट बन्द गरियोस्।

२. स्वकिय सचिवदेखि लिएर संगठनका अन्य प्रमुख जिम्मेवारीमा पनि योग्य र समर्पित कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गरियोस्।

३. पार्टीका सबै निर्णयहरू पारदर्शी, सहभागी र सहमतिमा आधारित हुनुपर्छ, गुटगत वा पारिवारिक पूर्वाग्रहले निर्देशित हुनुहुँदैन।

४. संघर्षकालमा पार्टी निर्माणमा योगदान दिने नेताहरूप्रति सम्मानजनक व्यवहार होस्, र उनीहरूलाई निष्क्रिय बनाउने षड्यन्त्रहरूको तत्काल अन्त्य गरियोस्।

५. १४ वर्ष लामो संघर्षपछि पनि कुनै गैरपारिवारिक पात्रले संगठन विभाग प्रमुखजस्तो महत्वपूर्ण जिम्मेवारी नपाउनु, र अध्यक्षका दाजुलाई एकसाथ तीन–तीन पदमा नियुक्त गर्नुले नेतृत्व शैलीमाथि गम्भीर समीक्षा आवश्यक बनाएको छ।

हामी पार्टीभित्र स्वस्थ आलोचना, आत्मसमीक्षा र सुधारको संस्कृति निर्माण नगरेसम्म जनमत पार्टीले मधेशका जनताको आशा–अपेक्षाको नेतृत्व गर्ने हैसियत कायम राख्न सक्दैन।

जनताको भरोसा, नेताको प्रतिबद्धता र संगठनको समर्पण बीच सन्तुलन कायम राख्न सकिएन भने—भविष्यमा पार्टीप्रति विश्वास गुम्न सक्छ। यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्नेछ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ