काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता घोषणा भएको छ ।
यस साझेदारी अन्तर्गत, दुवै पार्टी संयुक्त रूपमा ‘बलेको चिम’ चुनाव चिन्ह प्रयोग गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने छन् ।
दुवै पार्टीबीच निरन्तर छलफलपछि राजनीतिक, वैचारिक र चुनावी सहकार्यलाई सुदृढ गर्ने सहमति भएको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहको नेतृत्वमा यो एकता अघि बढाइएको छ ।
घोषणामा पछिल्ला वर्षहरूमा जनतामा सुशासन, समृद्धि, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति ठूलो आकांक्षा बढेको कुरा उल्लेख गरिएको छ। यस सहकार्यको उद्देश्य जेनजी आन्दोलनको मर्म र भावनालाई व्यवहारमा परिणत गर्दै जनतालाई सशक्त राजनीतिक विकल्प प्रदान गर्नु रहेको छ।
सम्झौताअनुसार, दुवै पार्टीले संयुक्त उम्मेदवारी दिन, उम्मेदवार चयन गर्दा जनप्रभावकारिता र इमानदारीको आधारमा निर्णय लिन र प्रचार–प्रसार, जनसम्पर्क, स्रोत साधन, स्वयंसेवक परिचालन र संयुक्त चुनावी घोषणापत्र तयार गर्ने कार्यहरू गर्ने छन्।
तपाईको प्रतिक्रिया