काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल बस्दै व्यावसायिक गतिविधि सञ्चालन गरेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार ती नागरिकहरू पर्यटक भिसाको सर्तविपरीत व्यापारिक कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि बिहीबार पक्राउ गरिएको हो।
अध्यागमन विभागको अभिलेखअनुसार उनीहरू सन् २०२४ मा चीनको तिब्बतस्थित दुई कम्पनीका बजार विश्लेषकका रूपमा नेपाल प्रवेश गरेका थिए। पछि विदेशी लगानी भित्र्याई ‘लिउ जुन विथ रेस्टुरेन्ट’ स्थापना गर्ने योजनासहित व्यावसायिक भिसा प्राप्त गरे पनि प्रतिबद्धताअनुसार लगानी नल्याएको पाइएको विभागले जनाएको छ। हाल उनीहरू पर्यटक भिसामै नेपालमा बसिरहेको तथ्य फेला परेको छ।
अनुसन्धानका क्रममा उनीहरूले नेपाली नागरिकको नाममा ‘नेपाल जन्गनी ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट’ नामक कम्पनी दर्ता गराई चिनियाँ कृषि फर्मसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेको देखिएको विभागले जनाएको छ।
विभागका अनुसार उक्त कम्पनीले टिकटक लगायत सामाजिक सञ्जालमार्फत विभिन्न खाद्य सामग्रीको प्रचारप्रसार गर्दै बिक्री वितरण गरिरहेको थियो। हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसजस्ता उत्पादन सस्तो मूल्यमा उपलब्ध गराउने दाबी गरिए पनि ती सामग्री बजार मूल्यभन्दा महँगो दरमा बिक्री भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको अध्यागमन विभागले जनाएको छ।
तपाईको प्रतिक्रिया