भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, उच्चस्तरीय द्विपक्षीय वार्तामा केन्द्रित हुने

समाचार

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा भारत भ्रमणमा रहेका मन्त्री खनाललाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्क हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गरेका थिए।

भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नेपालका प्राथमिकता र साझा चासोका विषयमा भारतीय पक्षसँग विस्तृत संवाद हुने बताएका थिए।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा दुवै देशको साझा हितसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

विशेष गरी व्यापार तथा लगानी प्रवर्द्धन, ऊर्जा सहकार्य, पूर्वाधार तथा कनेक्टिभिटी विस्तार र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषय बैठकको प्रमुख एजेन्डामा रहने बताइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा रहेको यस भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, कूटनीतिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

मन्त्री खनालको भ्रमण सम्पन्न भएपछि उनी २४ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ