मधेशमा कांग्रेसको जनाधार फर्काउने अभियानमा मनिष कुमार मिश्र

समाचार

काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका मनिष कुमार मिश्र पछिल्लो समय नेपाली कांग्रेसलाई मधेशमा पुनः बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियानमा सक्रिय भएका छन्। पारिवारिक रूपमा कांग्रेससँग नजिकको पृष्ठभूमि भए पनि मिश्रले आफ्नो राजनीतिक यात्रा भने मधेशको अधिकार, पहिचान र विकासका मुद्दालाई केन्द्रमा राख्दै मधेशवादी राजनीतिबाट सुरु गरेका थिए।

वि.सं. २०६४ पुस १३ गते तत्कालीन नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष तथा विज्ञान तथा प्रविधिमन्त्री महन्थ ठाकुरले तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गर्दा मिश्र उक्त पार्टीमा प्रवेश गरेका थिए। पार्टीको प्रारम्भिक चरणमै सदस्यता लिएका मिश्रले युवा तथा विद्यार्थीलाई राजनीतिमा जोड्ने अभियानमा सक्रिय भूमिका निर्वाह गरे।

तमलोपाको साधारण सदस्य हुँदै विद्यार्थी राजनीतिमा सक्रिय भएका मिश्रले विद्यार्थी संगठनको सदस्यदेखि केन्द्रीय सहमहासचिव र महासचिवसम्मको जिम्मेवारी सम्हाले। त्यसपछि तत्कालीन तराई–मधेश विद्यार्थी फ्रन्टको पहिलो कलैया महाधिवेशनबाट उनी केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।

समयक्रममा विभिन्न मधेशवादी दलबीच एकीकरणको प्रक्रिया अघि बढ्यो। तमलोपासहितका दलहरू एकीकरण भएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन भएपछि मिश्र पनि उक्त राजनीतिक यात्रामा निरन्तर सक्रिय रहे। राजपाले उनलाई मधेश प्रदेश सभाका लागि समानुपातिक प्रदेशसभा सदस्यका रूपमा समेत नाम सिफारिस गरेको थियो।

पछि राजपा र अन्य मधेशवादी शक्तिहरूबीचको एकीकरणबाट जनता समाजवादी पार्टी नेपाल गठन भयो। उक्त समयमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष तथा डा. बाबुराम भट्टराई केन्द्रीय परिषद् अध्यक्ष रहने संरचना बनेको थियो। तर यो एकता लामो समय टिक्न सकेन।

पार्टी विभाजनपछि महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन भयो। मिश्रले लोसपामा केन्द्रीय सदस्यका रूपमा संगठन निर्माणमा काम गर्दै अघि बढे। त्यसपछि उनलाई पार्टीको केन्द्रीय महासचिव तथा प्रवक्ताको जिम्मेवारीसमेत दिइयो।

पछिल्लो चरणमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पुनः एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल नाम कायम गरिएको थियो। सहमतिअनुसार महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहने तथा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको थियो। मिश्र उक्त समन्वय समितिका सदस्य बने।

सर्लाही–४ मा टिकट विवादपछि कांग्रेसतर्फ मोडिए

मिश्रले पछिल्लो समय सर्लाही–४ लाई आफ्नो राजनीतिक गतिविधिको मुख्य क्षेत्र बनाउँदै आएका थिए। संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न उनले क्षेत्र तथा जिल्लास्तरमा निरन्तर संगठन निर्माण र जनसम्पर्क बढाएका थिए। उनको नाम सर्लाही–४ बाट पार्टीको तर्फबाट एकल रूपमा सिफारिससमेत भएको थियो।

तर पार्टीले अन्ततः बाहिरबाट आएका उम्मेदवारलाई टिकट दिएपछि मिश्र असन्तुष्ट बने। पार्टीमा लामो समयदेखि संगठन निर्माणमा काम गरेका नेता तथा कार्यकर्तालाई नै निर्वाचनमा प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।

त्यसपछि सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको उम्मेदवारीलाई समर्थन गर्दै मिश्र कांग्रेससँगको राजनीतिक सहकार्यतर्फ अघि बढेका हुन्।

कांग्रेसमा प्रवेश गर्ने निर्णय गर्नुअघि उनले आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूसँग व्यापक छलफल गरेका थिए। विभिन्न राजनीतिक दलका नेताहरूबाट पार्टी प्रवेशका लागि निरन्तर आग्रह आइरहेको भए पनि अन्ततः आफ्नो क्षेत्रका अगुवा नेता–कार्यकर्ताको सुझावका आधारमा कांग्रेस रोजेको मिश्रको भनाइ छ।

उनका अनुसार लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेस नै उपयुक्त विकल्प भएको निष्कर्षमा आफूहरू पुगेका हुन्।

‘मधेश र कांग्रेसको सम्बन्ध पुनः बलियो बनाउनुपर्छ’

मिश्रले कांग्रेससँग जोडिनुको प्रमुख कारण मधेशप्रतिको कांग्रेसको बदलिँदो दृष्टिकोण भएको बताएका छन्। उनका अनुसार कुनै समय मधेशमा कांग्रेसको बलियो जनाधार थियो र मधेश तथा कांग्रेस एकअर्काका पर्यायजस्तै थिए। तर मधेशका मुद्दाप्रति तत्कालीन नेतृत्वको उदासीनता र अनुदार व्यवहारका कारण कांग्रेसको जनाधार क्रमशः कमजोर हुँदै गएको उनको बुझाइ छ।

पछिल्लो नेतृत्वले मधेशप्रतिको दृष्टिकोण परिवर्तन गरेको र मधेशको अधिकार तथा विकासका मुद्दामा कांग्रेसले थप जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मिश्रको भनाइ छ।

यही विश्वासका आधारमा उनले तत्कालीन लोसपा नेपाल र जसपा नेपालमा रहेका आफ्ना सहकर्मी तथा समर्थकहरूसहित ठूलो संख्यामा कांग्रेस प्रवेश गर्ने वातावरण निर्माण गरेका हुन्।

वि.सं. २०८२ फागुन २ गते छतौना हाईस्कुलको प्रांगणमा आयोजित कार्यक्रममा मिश्रसहित लोसपा नेपाल र जसपा नेपालबाट आएका ठूलो संख्याका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस प्रवेश गरेका थिए। कार्यक्रममा कांग्रेसका नेताहरूले नवप्रवेशीहरूलाई टीका र खादा लगाएर स्वागत गरेका थिए।

प्रवेश गरेकाहरूको जिम्मेवारी व्यवस्थापन गर्न समिति

कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई पार्टीको संगठनात्मक संरचनामा जिम्मेवारी व्यवस्थापन गर्न नेपाली कांग्रेसले तीन सदस्यीय समायोजन समिति गठन गरेको छ। समितिको संयोजकमा अर्जुननरसिंह केसी तथा सदस्यमा उज्ज्वल प्रसाद बराल र प्रदीपराज शर्मा रहेका छन्।

समितिले नवप्रवेशी नेता–कार्यकर्ताको राजनीतिक पृष्ठभूमि, संगठनात्मक भूमिका तथा स्थानीय प्रभावका आधारमा जिम्मेवारी व्यवस्थापनको काम अघि बढाइरहेको छ। मिश्रले आफ्नो क्षेत्रका नेता तथा कार्यकर्ताको विवरणसमेत समायोजन समितिलाई बुझाइसकेको बताएका छन्।

काठमाडौंमा बसेर मधेशको संगठन विस्तारको गृहकार्य

हाल मिश्र काठमाडौंको सिनामंगलस्थित निवासबाट मधेशमा कांग्रेसको संगठन विस्तार तथा सुदृढीकरणको गृहकार्यमा सक्रिय रहेको बताइएको छ। उनी नियमित रूपमा मधेशका विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट, छलफल र परामर्श गरिरहेका छन्।

मिश्रको भनाइमा मधेश भन्नाले केवल आठ जिल्लामा सीमित भूगोललाई बुझ्नु हुँदैन। मेचीदेखि महाकालीसम्मको तराई–मधेश भूभागमा कांग्रेसको संगठनलाई पुनः पुरानै अवस्थामा फर्काउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको उनको दाबी छ।

उनले कांग्रेस सभापति गगन कुमार थापाप्रति मधेशमा जनविश्वास बढ्दै गएको दाबी गर्दै थापाको नेतृत्वमा कांग्रेसलाई मधेशमा पुनः बलियो बनाउने अभियान अघि बढाउने बताएका छन्।

‘२२ जिल्लाबाटै नेता–कार्यकर्ता कांग्रेस प्रवेश गर्न तयार छन्’

मिश्रका अनुसार पार्टी प्रवेशको प्रक्रिया र संगठनात्मक समायोजनको काम केही ढिलो भएका कारण तत्काल ठूलो संख्यामा प्रवेश कार्यक्रम अघि बढ्न नसकेको हो। तर विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग निरन्तर संवाद भइरहेको र मधेशका २२ जिल्लाबाटै प्रभावशाली नेता तथा कार्यकर्ता कांग्रेसमा जोडिन इच्छुक रहेको उनको दाबी छ।

उनले भनेका छन्, “समायोजनको काम केही ढिला भएकाले पार्टी प्रवेशको प्रक्रिया अगाडि बढ्न सकेको छैन। तर साथीहरूसँगको छलफलअनुसार मधेशका २२ जिल्लाबाटै एक से एक नेता तथा कार्यकर्ता कांग्रेसमा आउन तयार हुनुहुन्छ।”

जेनेरेसन–जी युवालाई पनि जोड्ने रणनीति

मिश्रले पछिल्लो पुस्ताका युवालाई कांग्रेसको राजनीतिक अभियानमा जोड्नुपर्ने आवश्यकतासमेत औंल्याएका छन्। विशेषगरी नयाँ पुस्ताका ‘जेनेरेसन–जी’ युवाहरू परम्परागत राजनीतिक शैलीभन्दा फरक अपेक्षा राखिरहेको भन्दै उनीहरूलाई कांग्रेसको संगठन र नेतृत्वसँग जोड्न नयाँ ढंगले काम गर्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार युवा पुस्तामा गगन थापाको नेतृत्वप्रति आकर्षण देखिएको छ र त्यसलाई संगठनात्मक शक्तिमा रूपान्तरण गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरू जनतामाझ पुगेर काम गर्नुपर्ने आवश्यकता छ।

मिश्रले अबको आफ्नो राजनीतिक प्राथमिकता मधेशमा कांग्रेसको संगठन विस्तार, युवा तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने, मधेशका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्ने तथा स्थानीय तहदेखि प्रदेश र संघीय संरचनासम्म पार्टीलाई बलियो बनाउने रहेको बताएका छन्।

यससँगै उनको सक्रियताले मधेशमा कांग्रेसको संगठन विस्तार र अन्य मधेशवादी दलबाट नेता–कार्यकर्तालाई कांग्रेसमा ल्याउने प्रयासलाई नयाँ राजनीतिक बहसका रूपमा अघि बढाएको छ। यद्यपि ठूलो संख्यामा हुने भनिएको पार्टी प्रवेश र संगठनात्मक समायोजनले आगामी दिनमा कांग्रेसको मधेश राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने राजनीतिक रूपमा चासोको विषय बनेको छ।

 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ