अध्यादेशले राजपालाई कुनै असर गर्दैन, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र : संयोजक भण्डारी

राजनीति

4/21/2020

काठमाडौं, ९ बैशाख । सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको अध्यादेशप्रति राष्ट्रिय जनता पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । राजपाले सो अध्यादेशको घोर भर्त्सनासमेत गरेको छ ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी सम्पूर्ण विश्व नै कोरोनाको महामारीबाट थलिएको बेलामा गरिएको यसखाले असामयिक र संवेदनहीन निर्णयले समग्र राजनीति नै कलंकित भएको बताएका छन् ।

संयोजक भण्डारीले यो निर्णय बेमौसमी बाजा सावित भएको बताएका हुन् । उनले यस प्रकारको अलोकतान्त्रिक, गैरसंवैधानिक र गैरजिम्मेवार निर्णयको घोर भत्सर्ना गर्दै तत्काल अर्को निर्णय गरि यो अध्यादेशलाई खारेज गर्न माग गरेका छन् ।

संयोजक भण्डारीले जारी गरेको राजपाको तीनबुँदे निष्कर्षः

१.आम नेपाली जनताले दिएको म्यान्डेटका विपरीत पुरै मुलुकलाई अस्थिर बनाई राजनीति प्रती वितृष्णा जगाउने गरि राजनीतिक दल विभाजन गर्न,भएको ऐन संशोधन गरि ल्याइएको अध्यादेश जनभावना बिपरित स्थिरता ,स्थायित्व र आर्थिक समृधिको आफ्नै मान्यता विरुद्ध मुलुकलाई अस्थिरता तर्फ धकेल्ने षड्यन्त्र भएको स्पष्ट भएको छ।

२.संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई भुमिकाहीन बनाउने गरि ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र देखिएको छ।राज्यको हरेक ठाउँमा आफुखुशी निर्णय र नियुक्तिहरु गरि मुलुकलाई एकात्मकता,निरंकुशता र अधिनायकवाद तर्फ लाने मनसाय उदागिंएको छ।विधिको शासन र जनभावना विरुद्ध संविधानको मर्म विपरीत सर्वसत्तावाद लाद्ने कुचेष्टा छताछुल्ल भएको छ।

३.राष्ट्रिय जनता पार्टी नेपाल पहिचान, अधिकार र समावेशीताको लागि संघर्ष गर्ने पार्टी भएको र आफ्नो माग मुद्दा प्रती दृढ संकल्पित रहेकोले यसखाले निर्णयले पार्टीलाई कुनै प्रकारको असर नपर्ने जानकारी गराउदछौं।अहिलेको निर्णयले गर्दा कुनै प्रकारको भ्रममा नपरी कोरोना महामारीको यश घडीमा पुरै पार्टी पंक्तिलाई एकढिका भै लक डाउनको नियम पाल्ना गर्दै आफू सुरक्षित रहि आ(आफ्नो ठाउँमा दत्तचित्त भै आफ्नो भुमिका निर्वाह गर्न आह्वान समेत गर्दछौं।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ