अब जसपाकै नेतृत्वमा सरकार : महतो

राजनीति

4/16/2021

जनकपुरधाम, २ बैशाख । जसपा नेपालका नेता राजेन्द्र महतोले जसपाको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन् । उनले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए जसपाले आफ्नै नेतृत्वमा पनि सरकार बनाउन सक्ने बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए वा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गराए जसपाकै नेतृत्वमा सरकार बन्न सक्छ,’ जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सरकारमाथि अविश्वासको प्रस्ताव आएपछि जसपाले उचित निर्णय गर्छ । आफ्नै नेतृत्वमा सरकार बनाउने सम्भावनाको खोजी गर्छ ।’

तर, सत्तासमीकरण जसपाको प्रमुख एजेन्डा नरहेको र आफूहरुका माग सम्बोधन गराउन पहल गरिने उनको भनाइ थियो । विगतमा कुनै पनि पार्टीले मधेशको मागप्रति चासो नदेखाएको भन्दै उनले वर्तमान सरकार त्यसका लागि लचिलो देखिएको संकेत गरे ।

‘‘२०८ जना नेता एवं कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता गर्ने प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘सरकार यसप्रति सकारात्मक रुपले अगाडि बढ्ने संकेत पनि देखाएको छ ।’

वर्तमान सरकारसँग संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिक, बन्दी रिहाइ र झुटा मुद्दा फिर्ता गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ