अहिलेको अवस्थामा हामी संविधान दिवस मनाउन सक्दैनौं : महतो

राजनीति

9/19/2018

कैलाली, ३ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता राजेन्द्र महतोले यो संविधानमाथिको विरोध जारी रहने बताएका छन् ।

कैलालीमा बुधबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा आफूहरुले संविधान दिवस मनाउन नसक्ने स्पष्ट पारेका छन् ।

महत्तोले मधेशीलगायत पछाडि पारिएका समुदायका माग पूरा गर्नुपर्ने बताउँदै यो देशमा दुई थरीका व्यवहार भइरहेको टिप्पणी गरेका छन् ।

अहिलेको सरकार नश्लवादी भएको भन्दै महतोले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफूहरुका माग पूरा गर्ने आश्वासन दिएकाले अहिलेसम्म पर्खेको बताए ।

उनले कैलाली घटनालगायत तराई–मधेशका जिल्लामा प्रतिशोध साँधेर पक्राउ गरिएका नेता कार्यकर्ताको तत्काल रिहाईको माग समेत गरे ।

पत्रकार सम्मेलनमा अध्यक्षमण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमाङ्कन आफूहरुलाई मान्य नभएको बताए ।

उनले टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म शपथ ग्रहण गरी संसदमा भाग लिने अवस्था राज्यले बनाउनु पर्नेमा जोड दिए ।

झाले भने, ‘अहिलेको सरकारले मधेश मुद्दा र पहिचान अधिकारसहितको यो संविधानमा उल्लेख गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ