‘आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार हो’

राजनीति

1/19/2020

ललितपुर, ६ माघ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफ्नो विदेश भ्रमण र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको हीतमा नीतिगत निर्णय गर्नु भ्रष्टाचार भएको बताएका छन् ।

उनले भने, ‘सरकारले गरेको नीतिगत भ्रष्टाचार पत्ता लगाउन फाइल पल्टाएर मात्र पुग्दैन, नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्षहरूको विदेश भ्रमणको व्युजिनेस क्लासको टिकेट, तारे होटलको विल र उपचार खर्च बेहोर्ने स्वार्थ समूहको पक्षमा मन्त्रीपरिषदले गरेका नीतिगत निर्णयहरू हेरे प्रष्ट हुन्छ ।’

प्रतितिधिसभाको सदस्य समेत रहेका पूर्वमन्त्री श्रेष्ठले उक्त कुरा समाजवादी पार्टीको गैरभौगोलिक विशेष प्रदेश अन्तर्गत यहि शनिवार भएको १ नम्बर र ३ नम्बर प्रदेशका सम्पर्क विशेष जिल्ला समितिहरू समायोजन कार्यक्रममा बताएका हुन् । उनले नीतिगत निर्णयको नाममा देशमा ठूलो परिमाणको भ्रष्टाचार भइरहेको बताउँदै नेकपा अध्यक्षहरूको विदेश भ्रमण खर्चको विवरण छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।

नेता श्रेष्ठले मन्त्रीपरिषदले गर्ने प्रत्येक निर्णय नीतिगत नहुने भन्दै त्यसको बहानामा अख्तियार पञ्छिन नमिल्ने बताए । अख्तियारले मन्त्रीपरिषदको नीतिगत निर्णय छानबिन गर्न नमिल्ने भन्नु गलत भएको बताउँदै उनले भने, ‘आम जनताको हीतका लागि नीति बनाउनु मात्र नीतिगत निर्णय हो । व्यक्तिगत लाभका लागि स्वार्थ समूहको पक्षमा गर्ने मन्त्रीपरिषदको निर्णय नीतिगत भन्न मिल्दैन । त्यसको छानबिन गर्नै पर्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ