एकताका लागि अब बल राजपाको कोर्टमा : उपेन्द्र यादव

राजनीति

12/24/2019

काठमाडौं, ९ पुस । नेपालमा वैकल्पिक शक्ति बनाउनका लागि लामो समयदेखि राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणको चर्चा चलिरहेको छ । राजपा र सपाको मुद्दा पनि लगभग एउटै छन् ।

एकताका लागि दुवै पार्टीको तर्फबाट वार्ता समिति पनि बनेको छ र सो समितिले अनौपचारिकमा पटक–पटक वार्ता पनि गर्दै आएको छ ।

एकताका लागि सबै कुरा मिलिसकेको तर, समाजवादी सरकारबाट बाहिर नआएसम्म एकता नहुने तर्क राजपाका अध्यक्षमण्डलका संयोजकसमेत रहेका वार्ता टोलीका संयोजक राजेन्द्र महतोको थियो ।

मंगलबार समाजवादी पार्टी आधिकारिकरुपमै सरकारबाट बाहिर आएको छ । समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव र मो.इस्तियाक राई मन्त्री थिए । दुवै जनाले राजीनामा बुझाइसकेका छन् ।

संविधान संशोधनका लागि ड्राफ्ट पेस गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो ।

सरकारबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीको क्रममा समाजवादीका अध्यक्ष उपेन्द्रले राजपासँगको एकीकरणलाई प्राथमिकतामा राखेको बताएका छन् । त्यसका लागि कुराकानी भइरहेको पनि जनाए ।

अध्यक्ष यादव भने, ‘राजपाको सबभन्दा ठूलो माग नै थियो कि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्छ । अब हामी बाहिरियौं । यसपछि राजपाले के गर्छ, त्यो अब जनताले हेर्छन् ।’

अब राजपा र समाजवादीको एकता निश्चित भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा अध्यक्ष यादवले भने, ‘अब बल राजपाको कोर्टमा छ, एकीकरण चाहने हो भने हुन्छ । राजपाले यदि नचाहने हो र हामी छोडेको उही ठाउँमा जाने हो भने हामीलाई भन्नु केही छैन ।’

उनले भने, ‘तर त्यसो गर्नुहोला भन्ने त मलाई लाग्दैछ । त्यसकारणले अब राजपाले कता लाने हो, बल राजपाकै कोर्टमा छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ