काठमाडौं, २३ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच मंगलबार छलफल भएको छ । सत्तारूढ दल नेकपा फुटको संघारमा पुगिरहँदा दुई दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।
छलफलमा वर्तमान राजनीतिक घटनाक्रमबारे र सरकारको कार्यशैलीमा केन्द्रित रहेको छ । काँग्रेस र जसपाका नेताहरुबीच संसद अधिवेशन अन्त्य गरिएको विषयमा पनि छलफल भएको छ ।
जसपाका नेता राजेन्द्र महतोका अनुसार जनता कोरोनाले आक्रान्त भएको बेला केपी ओली र उसको पार्टीका मान्छे कसरी सत्तामा टिकिराख्ने र कुर्सी जोगाउने भनेर लागेको छ । अब यसरी बसेर हुँदैन प्रतिपक्षी दलहरुले सरकारलाई काम गर्न दबाब दिनुपर्छ भनेर हामीले आज देउवाजीसँग भेट गरेका हौँ ।’
‘जहाँ जनताको कुरा राखिन्छ त्यही संसदको अधिवेशन एकाएक बन्द गरिएको छ,’ उनले भने, ‘जनताको कुरा, समस्या सम्बोधन हुने थलो नै बन्द गरेर अझै ओलीजी राष्ट्रवादको कुरा गरिराख्नु भएको छ ।’
उनले नागरिकता विधेयकको विषयमा पनि सामान्य छलफल भएको जानकारी दिए । ‘नागरिकता विधेयकको विषयमा अब कसरी प्रस्तुत हुने भनेर पनि छलफल भएको छ’, महतोले भने ।
अंगीकृत वैवाहिक नागरिकतामा सात वर्षे प्रावधान तत्कालै फिर्ता लिएर अहिले संविधानमा भएको व्यवस्थालाई नै कायम गर्न कांग्रेस र जसपाका सांसदहरुले सरकारलाई दबाब दिइरहेका छन् ।
नेकपाले र संसदीय समितिले भने विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निर्णय गरिसकेका छन् । नागरिकता विधेयक अहिले संसदमा छ । महतोले नागरिकता विधेयक संविधानको मर्म विपरीत ल्याइएको पनि बताए ।
राष्ट्रिय राजनीतिमा बढ्दो गम्भीरता र सरकारको अपरिपक्वताले अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको जटिलताबारे दुई पार्टीबीच छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला सहभागी थिए । जसपाको तर्फबाट उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राई सहभागी थिए ।
तपाईको प्रतिक्रिया