काठमाडौं, १९ माघ । प्रहरी हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता स्व.राम मनोहर यादवको शव अन्ततः पाँच महिनापछि परिवारजनले बुझ्ने भएका छन् ।
प्रहरी हिरासतमा राम मनोहरको नियोजितरुपमा हत्या भएको आरोप परिवारजनको छ । परिवारजनले राम मनोहरको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए ।
यस सम्बन्धमा पाँच महिनासम्म कुनै किसिमको ठोस पहल नभएको र नेपालको न्याय प्रणालीबाट न्याय पाउने आशा मरिसकेकोले पार्थिव शरिरको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले मधेशवाणीलाई बताएको छ ।
पाँच महिनासम्म काठमाडौंको टिचिङ्ग हस्पिटलमा रहेको स्व.राम मनोहरको शव आइतबार मध्यान्ह १२ः०० बजे परिवारजन र गठबन्धनका नेताहरुले शव बुझ्ने गठबन्धनका नेता जासर यादवले जानकारी दिए ।
आइतबार शव बुझ्ने कार्यक्रम रहेको भन्दै नेता यादवले सम्पूर्ण मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा, बुद्धिजीबी तथा सञ्चारकर्मीलाई उपस्थितिका लागि आग्रहसमेत गरेका छन् ।
नेपाल सरकारले न्याय नगरेको भन्दै स्व.राम मनोहरलाई न्याय दिलाउन गठबन्धन अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनीसमेत दिएको छ ।
तपाईको प्रतिक्रिया