जनकपुरधाम, ९ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले केन्द्रिकृत सत्तामा रमाउनेहरु संविधान र संघीयताको कार्यान्वयन बाधक बनिरहेको आरोप लगाएका छन् ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. १ को प्रादेशिक भेलालाई विराटनगरमा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले सो आरोप लगाएका हुन् ।
राजनीतिक दलका नेताहरुले संघीयतालाई थोरबहुत स्वीकार गरे पनि स्थायी सत्ताका प्रतिनिधिहरुले संघीयतालाई अझै अंगिकार गर्न नसकेको उनको कथन थियो ।
संविधानमा भएकै व्यवस्थाहरु कार्यान्वयन गराउन सातै प्रदेशका मुख्यमन्त्रीहरुले बैठक बसेर एजेण्डा तय गरेकै कारण प्रधानमन्त्रीले बैठक स्थगित गरेको बताउदै उनले यस प्रवृतिले केन्द्रिकृत मानसिकतालाई अझै प्रष्टाएको बताए ।
मुख्यमन्त्री राउतले प्रदेश नं. २ बाहेक सबै प्रदेशमा एउटै पार्टीको सरकार रहेपनि संघीय सरकारले प्रदेशहरुलाई अधिकार दिन आनाकानी गर्नुमा उनिहरुको नियतमै प्रश्न चिन्ह खडा भएको उल्लेख गरे ।
मुलुकमा मधेशी आदिवासी जनजाति दलित मुस्लिम लगायत पहिचानवादीहरु दुई तिहाईको संख्यामा रहेपनि यी शक्तिहरुबीच आपसी एकता हुन नसक्दा मुठिभरका शासकहरुले राज गरि रहेको बताए ।
संविधानमा रहेका पहिचान र संघीयता सम्बन्धिका प्रावधानहरुलाई संस्थागत गर्दै थप अधिकारका लागि लडदै जाने पार्टीको निति प्रति कुनै द्विविधामा नपर्न नेता कार्यकताहरुलाई आग्रह गर्दै उहाँले पहिचानवादीहरु बीचको एकताले प्रदेश नं. १ मात्र नभई देशैभरमा पहिचानवादीहरुको शासन सत्ता स्थापित हुने बताए ।
पार्टीका महासचिव एवं प्रदेश नं. १ का इन्चार्ज रणध्वज कान्दवाको अध्यक्षतामा भएको दुई भेलाको उद्घाटन केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । भेलामा वरिष्ठ नेता अशोक राई, अर्का उपाध्यक्ष युवराज कार्की सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया