जनकपुरधाम, ११ फागुन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता र संविधान मास्न उद्यत वर्तमान सरकारले मुलुकलाई समेत लुट्न थालेको आरोप लगाएका छन् ।
धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा निर्मित शिव मन्दिरको उद्घाटन गर्दै उपसभापति निधिले भने,‘प्रधानमन्त्रीज्यू भन्ने गर्नुहुन्थ्यो, अब लुटिङ फ्यासिलिटी अन्त्य भइसक्यो । तर, उनकै घरमा बस्ने एकजना विश्वासपात्रले राजीनामा गर्नु भएको छ ।’ उनले प्रश्न गरे, सरकार भ्रष्टाचारमा डुबेको यो भन्दा बलियो प्रमाण के चाहियो र ?
उपसभापति निधिले प्रधानमन्त्रीको घर र कार्यालय दुवै ठाउँमा लुटिङ भइरहेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीज्यूको घर र कार्यालयमा लुटिङ भइरहेको छ । मुलुक भ्रष्टाचारको खाडलमा फस्दै छ, लुटिङ गर्नेलाई आज भगवान शिवले सबैको संहार गरुन्, म आग्रह गर्न चाहन्छु ।’
निधिले संघीयता र संविधानको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । ‘कम्युनिस्टहरु गणतन्त्र र संघीयतामाथि विश्वास गर्दैनन्, अहिलेको सरकार संविधान मास्नतर्फ उद्यत छ, यसलाई जोगाउन हामी सबै एकजुट हुनुको विकल्प छैन,’ निधिले भने ।
तपाईको प्रतिक्रिया