काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजन नभएको दाबी गरेका छन् । उनले केही व्यक्तिहरूलाई कारबाही गरेर निकालिएको र पार्टी एक ढिक्का रहेको दाबी गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘केही मान्छेले निर्णय उलंघन गरेका कारण निष्कासित गरिएको हो । पार्टी फुटेको छैन । जसपा अहिले एउटै छ, एक ढिक्का नै छ ।’
आफूहरूले पार्टीको आधिकारिक बैठकबाट कारबाही गरेर केही व्यक्तिलाई निष्कासित गरेको र ठाकुर पक्षले आफूलाई कारबाही गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको अध्यधिक बहुमतले पार्टीको विधान अनुसार व्यक्तिलाई निष्कासन गरेको हो । पार्टी एकजुट छ एकजुट रहन्छ,’ उनले भने ।
अध्यक्ष यादवले प्रदेशमा रहेका एमालेका सरकार अब क्रमशः ढल्दै जाने पनि दाबी गरे ।
सभामुख सापकोटासँगको छलफलको निचोड लोकतन्त्रलाई बचाउने रहेको उनको भनाई छ । यादवले नागरिकता विधेयक संसदबाट पास गराएर नागरिकताबाट बञ्चित भएकाहरुलाई नागरिकता दिनुपर्ने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया