जनकपुरधाम, १६ असोज । १५०औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस जनकपुरधाममा सरसफाई गरी मनाइएको छ ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा भएको वृहत सरसफाई कार्यक्रममा प्रदेश सभा सदस्य तथा सफाई अभियन्ता राम अशिष यादव, प्रदेश सभा सदस्य चमेली देवी दास लगायत विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिहरु, विभिन्न विद्यालयका विद्यार्थीहरुको विशेष सहभागिता रहेको थियो ।
महात्मा गान्धी स्मृति प्रतिष्ठानले आयोजना तथा सेभ द हिस्टोरिकल जनकपुरको सहकार्यमा आयोजना गरिएको वृहत सरसफाई कार्यक्रम जनकपुरको भानुचौक देखी शुरु भएर मुर्ली चोकसम्म पुगेको थियो ।
सरसफाई कार्यक्रमलाई समापन गर्दै मुख्यमन्त्री राउतले मित्रराष्ट्र भारतका राष्ट्रपिता एवं अहिंसावादी आन्दोलनका प्रणेता महात्मा गान्धीको अवसरमा प्रदेशको राजधानी जनकपुरधाममा गरिएको सरसफाई स्वच्छतालाई प्राथमिकतामा राख्ने सन्देश रहेको बताए ।
उनले प्रदेशको राजधानी मात्र नभई हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र समेत रहेको जनकपुरधामलाई सफा र स्वच्छ राख्न स्थानीयवासीलाई आह्वान गर्दै यसले स्वास्थ्यका साथै स्वच्छ जनकपुरको सन्देश चारैतिर फैली धार्मिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामीले मात्र गरेर जनकपुरधाममा सफा र स्वच्छ बनाउन सकिँदैन यसका लागि सबै जनकपुरवासीहरुले आ–आफ्नो ठाँउबाट पहल गर्नु पर्दछ ।’
तपाईको प्रतिक्रिया