काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ । आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो ।
जसपाका नेता शिवजी यादव र केशव झाले दल दर्ता भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन आयोगको गत बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको थियो ।
गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो । एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो ।
राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १३१ दल भएका छन् । जसपाको सहमति अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् ।
पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् ।
तपाईको प्रतिक्रिया