काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालभित्र विवाद चरम अवस्थामा रहेको बेला अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले कार्यकारिणी समितिमा १६ जना नयाँ सदस्य थप गरेका छन् ।
अध्यक्ष ठाकुरले थप गरेका सदस्यहरुप्रति अर्का अध्यक्ष उपेन्द्र यादव समूह पनि असन्तुष्ट छन् भने ठाकुरकै पक्षका प्रभावशाली नेताहरु असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टी एकता अहिले गम्भीर संकट मोडमा रहेको बेला जनस्तरमा बलियो पडक बनाएका कतिपय प्रभावशाली नेताहरु अध्यक्ष ठाकुरको प्राथमिकता नपर्नु दुःखद रहेको एक नेताले बताएका छन् ।
जसपाको पहिलो चरणमै केन्द्रीय कार्यकारिणी समिति निर्माण हुँदा छुटाउनै नहुने केही पात्रहरुसँग पुनः अन्याय भएको कतिपय नेताहरु बताउँछन् ।
पार्टी नेतृत्वपंक्तिबाट उपेक्षामा परेका नेताहरुमध्ये किसानहरुको नेताको रुपमा छवि बनाएका युवा नेता हुन् राकेश मिश्र । उनी प्रतिनिधिसभाको निर्वाचनमा सर्लाही ४ बाट २८ हजारभन्दा बढी मत ल्याएका थिए । जनस्तरमा बलियो पडक बनाएका यस्ता प्रभावशाली नेताहरुमाथि अन्याय नै भएको बुझिन्छ ।
यसैगरी, हाल राष्ट्रियसभा सदस्यसमेत रहेका शेखर सिंह पनि प्रभावशाली नेता हुन् । उनलाई पनि पार्टीले उचित स्थान दिन सकेन । यस्तै, नेपाल सरकारको जागिर छोडेर मधेशको राजनीतिमा लागेका नेता हुन् विनोद कुमार सिंह । उनी नेपाल मधेशी निजामती कर्मचारी मञ्चको लामो समयसम्म नेतृत्व गरिसकेका छन् ।
तत्कालीन राजपाको कार्यालयका निम्ति कर्मचारी मञ्चको कार्यालयलाई प्रयोग गर्न दिएका थिए । अहिले पनि बबरमहलस्थित जसपाको कार्यालय उनकै कारण पाएको छ । यस्तै, अर्को प्रभावशाली नेता हुन् संजय कुमार यादव । यादव मधेश आन्दोलनबाट उभ्रिएका युवा नेता हुन् ।
यसैगरी, विस्तार गरिएको कार्यकारिणी समितिमा महिलाबाट एक जना पनि पर्न सकेनन् ।
तपाईको प्रतिक्रिया