जसपाको समायोजन निर्देशिका तयार

राजनीति

8/23/2020

काठमाडौं, ७ भाद्र । राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर बनेको जनता समाजवादी पार्टी (जसपा )ले समायोजन निर्देशिका तयार गरेको छ । पार्टीको सचिवालयले तयार पारेको निर्देशिका जिल्लमाा समेत पठाइएको छ ।

‘पूर्व राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ गठन भएको दुवै पार्टी संगठन, समितिहरु, जनवर्गीय, भ्रातृलगायत संगठन समायोजन गर्न समायोजनसम्बन्धी निर्देशिका २०७७ पारित गरेको छ’, अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गर्दै परिपत्र पठाएका छन् ।

समायोजन निर्देशिका टुंगो लगाएर जिल्ला पठाएपछि पार्टीका संगठन समायोजन अब अघि बढ्ने छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । तर, केन्द्रीय समिति गठन, भ्रातृ संस्था र जिल्ला समितिहरुको समायोजन गर्न भने बाँकी नै छ ।

जसपाकोे केन्द्रीय समिति गठन गर्न गृहकार्य भइरहेको छ । जिल्लामा समायोजनका लागि निर्देशिका पठाइसकेपछि केन्द्रमा पनि नेताहरु छलफलमा जुटेका छन् । पूर्वसंघीय समाजवादी र पूर्वराजपा दुवैले आ–आफ्नो तयारी गरिरहेका छन् ।

मंसिर मसान्तसम्म समायोजन सकिसक्ने पार्टीको तयारी छ । केन्द्रीय समितिमा कसरी कार्यविभाजन गर्ने भन्नेबारे आन्तरिक छलफल भइरहेको छ । छट्टै केन्द्रीय समिति गठन हुने र त्यसले महाधिवेशन गर्ने जसपाका नेताको भनाइ छ । कोरोना भाइरसका कारण लकडाउन हुँदा पनि केन्द्रीय समिति गठन र संगठन समायोजनमा ढिलाइ हुन गएको उनको भनाइ छ ।

राजपाको ५३ र समाजवादी पार्टीको ७७ जिल्लामै जिल्ला समिति छ । राजपाको जिल्ला समिति नरहेका जिल्लामा पनि कार्यकर्ताहरु छन् । राजपाको जिल्ला समिति नभएको ठाउँका नेता तथा कार्यकर्ता समाजवादी पार्टीको जिल्ला समायोजनमा समाहित हुनेछन् । समायोजन निर्देशिकामा समायोजनको नीति तथा मापदण्ड प्रष्ट पारिएको छ ।

जसमा, ‘समितिको अध्यक्षलगायत नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरु, भ्रातृ, जनवर्गीय संगठनहरुलगायत संगठनात्मक स्थिति, पछिल्लो निर्वाचन परिणाम र नेतृत्वमा प्रस्तावित व्यक्तिको वरिष्ठता, क्रियाशीलता, क्षमता, योगयता र प्रभाविकारिता’ लाई मापदण्डका रुपमा लिनुपर्ने उल्लेख छ । सकेसम्म सहमतिमै समायोजन टुंगाउन पनि निर्देशिकामा भनिएको छ ।

समितिहरु समायोजन गर्दा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी मात्र दिइने भएको छ । पदेनबाहेक दुई अलग तहका समितिमा रहेका व्यक्तिहरुलाई आफू रहने समिति छनोटको अवसर भने दिइने व्यवस्था गरिएको छ ।

त्यस्तै समितिमा पदाधिकारी चयन गर्दा सामुदायिक विशेषताअनुसार समावेशीतालाई ध्यान दिनुपर्ने, महिलाको संख्या अपुग भए महिलाबाटै स्थान पूर्ति गर्नेगरी स्थान खाली राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

पार्टीले प्रदेश समिति तथा पहिचानमा आधारित राष्ट्रिय समिति पनि गठन गर्ने भएको छ । ती समिति गठनमा सहजीकरण गर्नका लागि केन्द्रीय कार्यदल खटाइने जनाइएको छ ।

प्रदेश र राष्ट्रिय समितिमा इन्चार्ज र सहइन्चार्ज केन्द्रीय कार्यकारिणी समिति नै तोक्ने समायोजन निर्देशिकामा उल्लेख छ । सहइन्चार्ज प्रदेशमा चारजना हुनेछन् भने राष्ट्रिय समितिमा भने आवश्यक्ताअनुसार तोक्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, जिल्ला समन्वय समिति र निर्वाचन क्षेत्र समन्वय समिति समायोजनका लागि एक तहमाथिको समितिले सहजीकरण गर्ने भएको छ । संघ र प्रदेशको निर्वाचनमा दुवै पार्टीले भाग लिएका ठाउँमा बढी मत प्राप्त गर्ने पार्टीले अध्यक्ष पाउने र अन्य पद आपसी सहमतिमा बाँड्ने निर्देशिकामा व्यवस्था छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ