काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले अर्को अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । राजनीति दलको ऐनसम्बन्धी, २०७३ को दफा ४४ को उपदफा २ अनुसार पत्र पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।
अध्यक्ष यादव समूहले दाबी गरेको निवेदनको प्रतिलिपिसहितको पत्र पठाउने तयारी भइरहेको उनले बताए ।
अध्यक्ष यादव समूहले बहुमत केन्द्रीय कार्यकारिणी समितिको बहुमतसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको थियो । उनीहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए ।
अध्यक्ष यादव समूहले ५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जनाको हस्ताक्षरसहित निर्वाचन आयोगमा दाबी गरेका हुन । तर ठाकुर समूहले कार्यकारिणी समितिमा एकलौटी रुपमा हेरफेर गरेका छन् । अध्यक्ष यादव समूहले त्यसलाई जालसाझीको संज्ञा दिएको छ ।
आफूहरूले बहुमतसहित आधिकारिकता माग गर्दा निर्वाचन आयोगले आफ्नो समूहलाई पार्टीको आधिकारिकता दिनुपर्ने यालव पक्षीय नेता मोहम्मद इस्तियाक राईले दाबी गरे ।
जसपाको एक पक्षले अर्को पक्षलाई कारवाही गर्न थालेपछि अनौपचारिक रुपमा विभाजन भइसकेको छ । तर कानुनी रुपमा औपचारिकता भने पाएको छैन ।
यसअघि पनि दुवै समूहले एकले अर्को समूहलाई निष्कासन गरेको पत्रसहित आधिकारिकता दाबी गरेका थिए । तर आयोगले दुवै समूहको प्रक्रिया नपुगेको भन्दै साविकको पदाधिकारीलाई नै कायम राख्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया