सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका–४ कुशहामा मंगलबार आयोजना गरिएको माघी महोत्सव २०७५ को उद्घाटन गर्दै उनले भने, ‘राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ । पछाडि पारिएका यी समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’
मुख्यमन्त्री राउतले देशको भुमिपुत्र थारु समूदाय रहेपनि राज्यले अझै थारु समूदायलाई उत्पीडन र विभेद गर्दै आएको बताए ।
उनले पछाडि पारिएका समूदायहरुकै हकअधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारले प्रहरी ऐन र करारमा कर्मचारी भर्ना ऐन ल्याएको बताए ।
यस बाहेक पनि प्रादेशिक लोक सेवा आयोग ल्याउन लागिएको बताउँदै मुख्यमन्त्री राउतले त्यसपछि जनसंख्या र लिङ्ग (महिला–पुरुष) को अनुपातमा कर्मचारी भर्ना गरिने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्री राउतले ‘वेटी बचाउँ, वेटी पढाउँ’ कार्यक्रम अन्तर्गत प्रदेशमा माघ १ गतेबाट जन्मिने छोरीहरुको एक लाखको बीमा गर्ने कार्य सुरु भएको घोषणा समेत गरे ।
उनले अब जन्मिने प्रदेशका सवै छोरीहरुको बीमा गरेर छोरीलाई पनि छोरा सरह सक्षम र सवल बनाउन तथा छोरीप्रति रहेको सोच परिवर्तन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
तपाईको प्रतिक्रिया