देशको नक्साको वर्थडे केक बनाएर खाने ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार छैन : सहअध्यक्ष श्रेष्ठ

राजनीति

2/25/2020

चितवन, १४ फागुन । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजिनामा गर्नु पर्छ भनेका छन् ।

उक्त कुरा उनले समाजवादी पार्टीको चितवन जिल्ला समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बताएका हुन् ।

देशको संविधान तथा मुलुकी संहिताले देशको भौगोलिक अखण्डता, राष्ट्रिय झण्डा, निशान छाप आदिको अपमान हुने गरी काम गर्न नपाउने व्यवस्था गरेको स्मरण गर्दै उनले भने, ‘संघीयताले देशलाई काँक्रो चिरे जस्तो चिर्ने बताउने ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सालाई बर्थडे केक बनाएर खाए । यो देशको अपमान हो । यो नेपालको संस्कृति पनि होइन । उनलाई अव नैतिकताको दृष्टिले सत्तामा बस्ने अधिकार छैन ।’

सहअध्यक्ष श्रेष्ठले समुन्नत संघीय समाजवादबारे प्रशिक्षणमूलक मन्तव्य दिंदै भने, ‘कांग्रेस र कम्युनिष्टले अगाडी सारेको समाजवादले देशको बहुराष्ट्रियतालाई सम्मान गर्न सकेन, समाजवादका नाममा व्यक्तिवादलाई नै प्रोत्साहित गरे । समाज र जनतालाई होइन राज्य र नेताहरूलाई पुजनीय बनाए ।’

देशका उत्पीडित राष्ट्रियताहरूको मुक्ति र समतामुलक समृद्धिका लागि संघीय समाजवादी गणतन्त्रको आवश्यकता रहेको बताउँदै उनले भने, ‘नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा सङ्घीयता बिनाको समाजवादले जातीय समस्या हल गर्न सक्दैन, समाजवाद बिनाको सङ्घीयताले वर्गीय समस्या हल गर्न सक्दैन । त्यसैले जातीय र वर्गीय दुबै समस्यालाई एकसाथ हल गर्न एकाइसौँ शताव्दीको विश्व ज्ञान र चेतनामा आधारित समुन्नत संघीय समाजवाद नै आजको एक मात्र वैचारिक विकल्प हो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ