काठमाडौं, ८ फागुन । राजपा नेपालले संविधान संशोधनको प्रतिबद्धता तत्काल पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले अबिलम्ब संविधान संसोधनको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
सरकार आफैँले गरेको प्रतिबद्धता पूरा गर्नबाट पछि हटे सरकार र राज्यप्रतिको विश्वास घटेर जाने भन्दै उनले आफूहरूको धैर्यतालाई कमजोरीको रूपमा नबुझ्न चेतावनी दिए ।
उनले समर्थन फिर्ता लिने, सडकमा जाने र संसद घेराउ गर्ने जस्ता उच्छृंखल गतिविधि गर्न आफूहरूलाई बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद कर्णले संविधान संसोधन र राजनीतिक आन्दोलनका क्रममा नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको लागि प्रतिबद्धता जनाएकाले सरकारलाई समर्थन गरेको स्मरण गराउँदै सरकारको आश्वासमा धेरै दिन धैर्य गर्न नसक्ने बताए ।
प्रतिनिधिसभाको यसअघिका बैठकमा पनि राजपाका सांसदहरूले संविधान संशोधन, मधेस आन्दोलनका क्रममा आफूहरूका कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्तालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया