काठमाडौं, २५ मंसिर । भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धलाई आत्मीय बनाउन आफूले राजदूत हुन चाहेको स्पष्ट पारेका छन् ।
आचार्यले नेपालको समृद्धिका लागि भारत अभिन्न अङ्ग भएको उल्लेख गर्दै त्यसका लागि आफूले आत्मीय सम्बन्ध कायम राख्न कूटनीतिक पहल गर्ने कामलाई उच्च प्राथमिकता दिने स्पष्ट पारे ।
संसदीय सुनुवाई विशेष समितिमा आफ्नो योग्यता, क्षमता र भावी योजनाबारे जानकारी दिँदै उनले अरु देशसँग सम्बन्ध विस्तार गर्दा भारतको कटौति हुने बुझाईलाई पनि आफूले अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
उनले भारतसँगको सीमा समस्या समाधानमा पनि आफूले उत्तिकै ख्याल राख्ने स्पष्ट पारे ।
भारतका लागि प्रस्तावित राजदूत आचार्यले भारतसँग नेपालको सीमा खुला भएपनि मन खुला नभएको पनि टिप्पणी गरे ।
उनले मित्र राष्ट्रको हैसियतमा नेपालले भारतसँग विश्वास निर्माणका लागि खुला मनका साथ काम गर्ने वातावरण बनाउने विषयलाई आफूले प्राथमिकता दिने योजना सुनाए । आचार्यले विगतमा भारतसँग भएको समझदारी कार्यान्वयनमा पनि आफूले जोड दिने स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया