जनकपुरधाम, २५ भाद्र । सङ्घीय समाजवादी फोरम, नेपालको मधेश प्रदेशको आयोजनामा यहि भाद्र २२ र २३ गते पार्टीका धनुषा जिल्ला अध्यक्ष चण्डेश्वर महतोको अध्यक्षतामा प्रदेशको राजधानी जनकपुरधाममा भब्य रूपमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि पार्टीका कार्यवाहक अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले उद्घाटन गरेको उक्त दुईदिने प्रशिक्षण कार्यक्रम अत्यन्तै सामयिक तथा उपलब्धीमूलक भएको कुरा सहभागिहरूले बताएका छन् ।
उक्त कार्यक्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले तात्कालिक राजनीतिक शक्ति सन्तुलनको अवस्थालाई विश्लेषण गरेर पार्टीले वर्तमान संविधान जारी हुँदाको बखत सडकमा उठाएको विषयलाई निर्वाचनलाई संघर्षको रूपमा उपयोग गरेर संसद्मा पुर्याएको मात्र नभई अहिले त्यसलाई सरकारको एजेण्डा बनाउन पनि सफल भएको बताए ।
उनले वर्तमान संविधानले नेपाललाई समाजवादउन्मुख घोषणा गरे पनि अमेरिका, स्विटजरल्यान्ड लगायतका बहुराष्ट्रिय राज्यहरूमा पुँजीवादी क्रान्तिको उपजको रूपमा त्यहाँको जनताले उपभोग गरेका सबै क्षेत्रमा सबै नागरिकहरूको समानता, सङ्घीय शासन, उत्पीडित राष्ट्रियताहरूको पहिचान, धर्म निरपेक्षता, समानुपातिक समावेशी, भाषिक समानता, सामाजिक विभेदबाट मुक्ति जस्ता विषयहरू नेपाली जनताले हाँसील गर्न नसकेबाट नेपालमा अझै राजनीतिक क्रान्ति जारी रहेको बताए ।
प्रतिनिधिसभा सदस्य समेत रहेका कार्यवाहक अध्यक्ष श्रेष्ठले ‘नेपाली क्रान्तिको सिद्धान्त संघीय समाजवाद’ विषयमा प्रशिक्षणको क्रममा प्रदेशलाई अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकार अनिच्छ्युक रहेको, आर्थिक सामथ्र्यता र स्रोत साधन उपलब्ध गराउनमा ढीलाई गरेको तथा सुरक्षा निकाय तथा कर्मचारीतन्त्रको असहयोग रहेबाट नेपालमा कागजी संघीयता मात्र रहेको कुरा पुष्टी भएको बताउँदै उत्पीडित राष्ट्रियताहरू जातीय, भाषिक, धार्मिक तथा साँस्कृतिक रूपले अझै आन्तरिक औपनिवेशीकरणबाट मुक्त नभएको समेत बताए ।
नेता श्रेष्ठले कार्यक्रमको अन्त्यमा कार्यकर्ताहरूले प्रधानमन्त्री ओली संघीयताविरोधी भएको, संविधान संशोधन नगरीकनै पार्टी सरकारमा गएको सन्दर्भमा सोधेको प्रश्नको जवाफमा भने– ‘नेपालको संविधानले संघवादको आधारभूत सिद्धान्त अंगीकार गरेको छैन । त्यसैले सदीयौँदेखि उत्पीडित जातिको समस्या हल भएको छैन । नेपालको संविधान नयाँ प्रदेशको सृजना र सीमांकन हेरफेरमा विश्वका सबैभन्दा अनुदार संविधान हो । वर्तमान प्रधानमन्त्रीले तपाँइहरू सरकारमा आए दुईतिहाई पुग्छ । त्यसलाई सच्याउन तयार छौँ भनेपछि हाम्रो पार्टी सरकारमा गएको हो ।’
यसरी उनले संविधान संशोधनकै लागि आफ्नो पार्टी सरकारमा गएको पुष्टी गरे । उनले सरकारसँग दुईबुँदे सम्झौता गरेको बेला आफूहरूले उठाएको २६ बुँदे मागमध्ये संघीय कानुनको माध्यमबाट हल हुने विषयहरू असोज ३ गतेभित्र बन्ने कानुनमा समेट्ने र नयाँ प्रदेशको सृजना र सीमांकन हेरफेर सम्बन्धि संविधानको धारा २७४ लगायतका संविधान संशोधनसँग सम्बन्धित विषयहरूमा त्यसपछि छलफल गर्ने सहमति भएको बताए ।
उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका अध्यक्ष रेणु यादवले पार्टी र भातृ संगठनको अन्तर सम्बन्धबारे प्रशिक्षण दिँदै वर्तमान संविधानमा रहेका त्रुटी र कमजोरीहरूलाई संविधान संशोधनको माध्यमबाट सच्याउन सरकारलाई पनि संघर्षको थलो बनाएको कुरा बताएकी छन् । उनले कुनै पनि नेता भगवान नभएको र पार्टी कार्यकर्ताह र भातृ संगठनहरूले नेताहरूको गतिविधिमाथि निरन्तर निग्रानी राख्नुपर्ने बताउँदै सरकारले शहीदको सपनालाई साकार पार्नुपर्ने बताइन् ।
त्यसरी नै पार्टीका कोषाध्यक्ष तथा मधेश प्रदेशका अर्थमन्त्री विजय यादव र कृषि तथा भूमिव्यवस्था राज्यमन्त्री शैलेन्द्र यादवले प्रदेश सरकारका नीति र कार्यक्रमहरूबारे पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षण दिए भने प्रदेश सांसद रामआषिस यादवले पार्टीको संगठनात्मक सिद्धान्त र विधानबारे तथा प्रदेशका प्रशिक्षण विभाग प्रमुख दिनेश यादवले प्रशिक्षणको विषयमा प्रकाश पार्नुका साथै नेतृत्व विकासका सन्दर्भमा प्रशिक्षण दिए ।
विजय मण्डलले उद्घोषण तथा शत्रुधन यादवले स्वागत गरेको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य रामस्वार्थ राय यादव, केन्द्रीय सदस्यहरू उर्मिला यादव, चमेलीदेवी दास, दीपक कार्की, महाजन यादव, साधुशरण यादव, बेचन मुखिया, रामगोविन्द यादव, केन्द्रीय परिषद सदस्य रामरतन यादव, प्रदेश सचिव शेष नारायण यादव लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
त्यसरी नै मधेश प्रदेशको आयोजना र महोत्तरी जिल्ला समन्वय समितिको आयोजनामा भाद्र २४ गते महोत्तरी जिल्लाको जलेश्वरमा पनि दुइदिने प्रशिक्षण कार्यक्रमको प्रारम्भ भएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा अशोज महिनाभित्र प्रशिक्षण कार्यक्रम आयोजना हुने कुरा मधेस प्रदेशका प्रशिक्षण विभाग प्रमुख दिनेश यादवले बताए ।
तपाईको प्रतिक्रिया