काठमाडौं, २५ कार्तिक । सत्तासीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतले मिचेको भनिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिएका छन् ।
भारतले नेपालको सीमा मिचेको बारेमा संघीय संसदको राज्यव्यवस्था समितिले डाकेको छलफलमा बोल्दै अध्यक्ष दाहालले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण नगरौं ।’ पूूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘यदि गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला ।’
समितिले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोलाइए पनि उनी उपस्थित भएनन् । ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । महाकाली नदीको मुहान लिम्पियाधुरा भएको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको दाहालको भनाई थियो ।
विगतमा स्थिरसरकार नहुँदा यस्ता समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भारतसँग गम्भीर वार्ता गर्ने उपयुक्त समय अहिले नै भएको बताए । विगतमा दह्रो कुरा राख्न नसकेको कारण समस्या देखिएको दाहालको भनाई थियो ।
तपाईको प्रतिक्रिया