काठमाडौं, २८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।
प्रधानमन्त्री ओली र चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालले हिंड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए ।
“समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं” प्रधानमन्त्री ओलीलाई उधृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले भने ।
प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण गरेका छन् । “हामी एउटै हिमालको वारी पारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं” प्रधानमन्त्रीले भनेका छन्, “हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।”
चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका छन् । गत वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराएका छन् ।
“नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँहरु बढी आकर्षित छन्” मन्त्री सुगाङको भनाइ उधृत गर्दै डा.भट्टराईले भने “भूकम्पपछिको पून निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन फाइदा पुग्नेछ ।”
तपाईको प्रतिक्रिया