काठमाडौं, २२ चैत । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री डा.सुरेन्द्र झाले नेपाली सेनालाई विवादमा नतान्न आग्रह गरेका छन् ।
डा.झाले शनिबार एक अपिल जारी गरी स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको त्रुटीको छानविन हुनुपर्ने र दोषी उपर कानुन बमोजिम कार्यवाही हुनुपर्ने माग गरेका छन् ।
‘अनियमितताको सन्दर्भमा सार्वजनिक रुपमा सवाल उठिसके पछि नैतिकताको आधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदमा बस्नु सुहाउदैन’, डा.झाले अपीलमा भनेका छन्, ‘हाम्रो भनाई राजनीतिक र प्रशासनिक असक्षमता प्रतिको प्रहार हो । भ्रष्टाचार प्रति हाम्रो खबरदारी हो । राजनीतिक पद्धति संविधान बमोजिम अगाडी बढ्नुपर्छ न कि कसैको महारानी बन्ने लहडमा ।’
उनले भनेका छन्, ‘राजनीतिक आवरणको एउटा जत्था बौदेखी सेनाको बदनामीका निम्ति नियोजित रुपमा खटेको छ र हामी मध्येका केही ताली बजाउँदैछौं । हरेक बिपत्तिको समयमा सेनाको भूमिका अग्रणी रहदै आएको छ र कोरोना नियन्त्रणमा पनि स्वास्थ्यकर्मी पछि उसैको भूमिका महत्वपूर्ण हुने हो ।’
‘सेनाले स्वास्थ्य उपकरणको नाममा व्यापार गर्ने उद्देश्य राखेको बुझिदैन, तर सरकारले बिपत्तिको घडिमा सहयोग लिन खोज्दा उसले पन्छिन सक्दैन । सेनालाई बिबादमा तान्ने, अनावश्यक रुपमा जिस्काउने या उसलाई तेजोबध गर्ने काम हामी कसैले पनि नगरौं । हरेक बिपत्तिमा नेपालीको भरपर्दो सहारा सेना हो भन्ने नभुलौ ।’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया