निलम्बित सांसद रौनियारद्वारा निलम्बनको जवाफ माग

राजनीति

8/20/2020

काठमाडौं, ४ भाद्र । पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले संसद्ले आफूलाई के कारणले निलम्बनमा पारेको भन्ने विषयमा जवाफ माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

उनले संघीय संसदका महासचिवलाई निवेदन दिएर निलम्बनमा पर्नुको कारण माग गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेपछि रौनियारलाई सांसद पदबाट निलम्बन गरेको थियो ।

यसअघि रौनियारले २०७५ पुस १५ गते गैरकानुनी हिसाबले निलम्बन गरेको भन्दै कारणसहित जवाफ दिन आग्रहसहित संसद सचिवालयमा निवेदन दिएका थिए । लामो समयसम्म पनि जवाफ नआएको भन्दै उनले पुन ध्यानाकर्षण गराउँदै जवाफ माग गरेका हुन् ।

बर्दियाको जबदीघाटस्थित बबई नदीको पुल निर्माणमा भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीले आफ्नै पप्पु कन्स्ट्रक्सनबाट ठेक्का पाएका थिए । उनको कम्पनीले बनाएको बबई नदी माथिको पुल १४ महिनामै भासिएपछि अख्तियारले पुलको गुणस्तरमा प्रश्न उठाउँदै अनुसन्धान अघि बढाएको थियो ।

उनले आफूलाई निलम्बन गर्ने प्रक्रिया गैरकानूनी भएको पनि दाबी गरेका छन् । उनले अख्तियारले मुद्दा दायर गर्दैमा सांसद नै निलम्बन गर्नुपर्ने कारण नरहेको तर्क गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ