जनकपुरधाम, ७ फागुन । मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुड्किलो रहेको बताए ।
७० औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि बलिदानी दिएका सयौं विर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरु प्रति सम्मान समेत प्रकट गरेका छन् ।
लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेको अवस्थामा विर शहीद एवं योद्धाहरुले देखेको समृद्धि र विकासको सपना पुरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको काँधमा आएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले इमान्दारिताका साथ काम गर्नु आजको आवश्यका रहेको उल्लेख गरे ।
उनले विभिन्न आन्दोलनको क्रममा लगाईका झुठा मुद्दाका कारण जेल जिवनयापन गरिरहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारसँग आग्रह समेत गरे । कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथिको आसनबाट झण्डोतोलन गरेका थिए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, जनकपुर उपमहानगरका उपप्रमुख रिता मिश्र सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया