प्रदेश २ को आर्थिक विकासलाई उच्च बिन्दूमा पुर्याउन संघीय सरकार प्रतिबद्ध : उपप्रम यादव

राजनीति

3/5/2019

जनकपुरधाम, २१ फागुन । प्रदेश नं. २ लाई समृद्ध बनाउने विषयमा संघीय सरकार, प्रदेश सरकार र विज्ञहरु बीच जनकपुरधाममा वृहत छलफल सम्पन्न भएको छ ।

नेपाल उद्योग परिसंघको आयोजना तथा प्रदेश सरकार र एसबीआई बैंकको सहकार्यमा सम्पन्न ‘प्रदेश नं. २ को समृद्धिको मार्ग’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुबीच समृद्धिको भावी रणनीतिको विषयमा व्यापक छलफल भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै सम्भावनाले भरिपुर प्रदेश २ को आर्थिक विकासलाई उच्च विन्दुमा पु¥याउन संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

त्यसका लागि आवश्यक पूर्वाधारहरुको निर्माण तथा कानूनी समस्याहरु समाधान गर्न प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गर्न समेत संघीय सरकार तयार रहेको उनले उल्लेख गरे ।

कृषिको व्यापक सम्भावना रहेको यस प्रदेशमा कृषिमा लगानीका साथै कृषिजन्य उद्योगलाई प्राथमिकतामा राखेर अघि बढने उल्लेख गरे ।

कार्यक्रममा विशिष्ट अतिथि एवं प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले लगानी भित्र्याउन आवश्यक सबै पूर्वाधार तयार गरेर लागनीको सुरक्षाको सुनिश्चितता समेत प्रदेश सरकारले ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाए ।

आफुहरु सरकार गठनकै बेलादेखि लगानी मैत्री वातावरण निर्माण गर्ने नीति लिएको उल्लेख गर्नु हुँदै उहाँले त्यसका लागि आवश्यक कानून निर्माणको प्रक्रिया समेत शुरु भै सकेको बताए ।

मुख्यमन्त्री राउतले चैत्र मसान्तभित्र उद्योग सम्बन्धि कानून आफुहरु बनाइसक्ने जानकारी गराउँदै त्यसपछि लगानी भित्र्याउने विषयमा सहयोग गर्न विज्ञ एवं नेपाल उद्योग परिसंघका पदाधिकारीहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आफुहरु लगानी मैत्री वातावरण बनाउने प्रक्रियामा रहेपनि संघ सरकारले हातखुट्टा बाँध्ने काम गरि रहेको आरोप लगाए ।

त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले लगानीकर्ताका लागि प्रदेश नं. २ सबैभन्दा सुरक्षित क्षेत्र हुने विश्वास व्यक्त गर्दै त्यसको प्रक्रिया आफूहरुले शुरु गरिसकेको उल्लेख गरे ।

कार्यक्रममा विज्ञहरुले समृद्धिको व्यापक सम्भावना बोकेको यस प्रदेशमा लागानीको वातावरण निर्माण भए ठूलठूला लगानीहरु भित्र्याउन सक्ने सम्भावना रहेको उल्लेख गरेका थिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा प्रदेश २ को अवस्था र आर्थिक समृद्धिका लागि अगामी रणनीतिका विषयमा प्रवुद्ध परिसंघका संयोजक एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. शम्भुराज सिम्खडा, डा. शंकर प्रसाद शर्मा, डा. गोविन्द पोखरेल, विन्दु लोहनी सहितका वक्ताहरुले आ–आफ्ना विचार राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ