काठमाडौं, ४ मंसिर । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार रहेको प्रदेश २ का नामबारे विभिन्न बहसहरु चलिरहँदा ‘मिथिला’ नाम र ‘सिम्रौनगढ’ राजधानी हुनुपर्ने धारणा आएको छ ।
फोरम नेपालका राजनीतिक समिति सदस्य तथा लेखा परीक्षण समितिका प्रमुख अमरेश नारायण झाले प्रदेशको नाम मिथिला र राजधानी सिम्रौनगढ राख्न सुझाव दिएका छन् ।
उनले मधेशका ८ वटा जिल्लालाई मात्रै मधेश प्रदेश नामाकरण गर्दा झापादेखि कञ्चनपुरसम्मका भूभागका लागि भएको आन्दोलनको उपहास हुने जिकिर गरेका छन् ।
मंगलबार मधेशवाणी रेडियो कार्यक्रममा अन्तर्वार्ताको क्रममा मिथिला प्रदेशबाट नै समग्र मधेश प्रदेशको अवधारणालाई बल पुग्ने दाबी गरेका छन् ।
मधेश आन्दोलनका बेला मधेशका ठाउँ–ठाउँमा नेपाल सरकारलाई काटेर मधेश सरकार लेखिएको कुरा उल्लेख गर्दै भने, ‘यदि मधेशका २२ वटै जिल्लाको मधेश प्रदेश भयो भने मिथिला, भोजपुरा, अवध, थारु लगायत त्यसमा बाधक बन्दैन । तर, मात्र आठ जिल्लालाई मधेश प्रदेश घोषणा गरियो भने अन्य जिल्लाहरुलाई मधेश भनेर बिर्सिँदा हुन्छ ।’
तपाईको प्रतिक्रिया