रौतहट, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि बेला प्रदेश २ को सरकार उलट फेर हुन सक्ने बताएका छन् ।
६९औ प्रजातन्त्र दिवसको अवसरमा राजदेवी मीडिया सेन्टरले गौरमा मंगलबार आयोजना गरेको ७औ जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगितामा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले प्रदेश २ मा सरकार परिवर्तन हुन सक्ने संकेत गर्दै यस्तो बताएका हुन् ।
संघीय सरकार र प्रदेश २ सहित ७ प्रदेशमा कम्युनिस्ट पार्टीको बहुमत रहेकोले गणितीय हिसाबले कुनै पनि बेला उलटफेर हुन सक्ने संकेत गरेका छन् ।
संघीय सरकारमा फोरम सहभागी रहेको र प्रदेश २ मा वामको सम्मानजनक उपस्थिति रहेकोले फोरम र वाम मिले भने सरकार परिवर्तन हुने उनको तर्क रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एकवर्षे कार्यकाल सफल रहेको दावी समेत गरे ।
पूर्वप्रधानमन्त्री नेपालले एक वर्षमा सरकारले केहि गल्ती गरेर पनि केहि अनुभव बटुलेको भने । सरकारको एक मात्र लक्ष्य समृद्ध नेपाल बनाउने रहेको बताए ।
शिक्षा, स्वास्थ्य, बेरोजगारी समस्या समाधान, आर्थिक समुन्नति, गर्ने लक्ष्यसहित सरकार अगाडी बढिरहेको जिकिर गरे । उनले रौतहटमा आफूले जति विकास गरेको त्यति कसैले पनि नगरेको ठोकूवा गर्दै पछाडिमा आलोचना गर्नेहरुलाई सामने आएर प्रतिवाद गर्न चुनौती दिए ।
२००७ साल, १७ साल, ४७ साल र ६२ सालका आन्दोलनको कारण मुलुकमा परिवर्तन आएको बताउँदै मुलुक बनाउने कार्यमा सबै दलले काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे ।
भ्रस्टाचारको विरोध गर्दै नेता नेपालले इमानदारी साथ काम नगर्ने आफै समाप्त भएर जाने उल्लेख गरे । दाइजो प्रथाको कडा रुपमा आलोचना गर्दै नेता नेपालले अब दाइजो प्रथाको अन्त्य गर्नका लागि जनअभियान चलाउनु पर्ने बताए ।
छोरी पढाउनु पर्ने जोड दिँदै दाइजो लिएर छोराको विहे गर्नेको घरमा कहिले पनि नजाने उद्घोष गर्दै वरिष्ठ नेता नेपालले छोरालाई पढाई वापत दाइजो माग्नेलाई सामाजिक रुपमा वहिष्कार गर्न आग्रह गरे ।
साइकल दौडमा सफल भएकीलाई बधाई दिँदै नेता नेपालले छोराछोरीमा विभेद नगर्न अपील गरे ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगंजका उपमहावाणिज्य दूत रमेश चतुर्वेदीले महिलाको अधिकार विना परिवर्तन सम्भव नरहेको प्रस्ट पारेका छन् । महिला पुरुष एउटा रथका २ पांग्रा रहेकोले महिलाहरुको सबै क्षेत्रमा समानुपातिक सहभागिता हुनु पर्ने उनको भनाई रहेको छ ।
गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले गौर नगरपालिका महिला, बालबालिकाको अधिकारका लागि सधैं सक्रिय रहेको बताएका छन् । लैंगिक विभेद समाप्त पार्दे समतामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्य रहेको मेयर गुप्ताले बताए ।
रामपुकार राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साइकल दौड़मा प्रथम स्थान हासिल गरेकी चन्द्रपुर नगरपालिका ८ की संगीता चौधरीलाई एउटा साइकल, शील्डसहित नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ भने द्वितीय स्थानमा दुई जना सहभागी संजू चौधरी र सूर्य कुमारी थापा संयुक्त रुपमा आएकोले दुवै जनालाई ३०–३० हजार नगदसहित शील्ड र साइकल पुरस्कार दिइएको आयोजक सस्थाले जनाएको छ । दौड़मा सहभागी भएका २६ जनालाई सान्त्वना पुरस्कारसहित एक एक वटा साइकल दिइएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका अध्यक्ष उपाध्यक्ष तथा स्थानीय तहका प्रमुख उपप्रमुख विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया