जनकपुरधाम, १३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालको चारदिने विस्तारित बैठक संयोजक महेन्द्र यादवको अध्यक्षतामा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सम्पन्न भएको छ ।
आसन्न राजपा नेपालको प्रथम एकताको महाधिवेशन लक्षित राजपा नेपालको बैठकमा केन्द्रीय अध्यक्षमण्डलका नेताहरु, राजपासम्बद्ध प्रदेश २ का मन्त्री एवं राज्यमन्त्रीहरु, संघीय संसदका सदस्यहरु तथा प्रदेश २ का प्रदेशसभा सदस्यहरु, प्रदेश सरकार समन्वय समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, जिल्ला अध्यक्षमण्डलका संयोजक एवं सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख, नगरपालिका प्रमुख एवं उपप्रमुख, गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षहरु लगायतसँग भइरहेको विकास निर्माण, जनचाहना एवं जनआकांक्षाको सम्बोधन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
यसैगरी, प्रदेश नं. १ को मंगलबार विराटनगर, प्रदेश नं. ५ को बुधबार भैरहवा, प्रदेश नं. ५ को दाङ, बाके एवं बर्दिया र प्रदेश नं. ७ को शुक्रबार नेपालगंजमा यस्तै प्रकारको बैठक हुने राजपाको पूर्वनिर्धारित कार्यक्रम हो ।
उपरोक्त अनुसारका पदाधिकारी एवं सदस्यहरु आ–आफ्नो तह, स्तर, निकाय र मन्त्रालयमा आफु र आफ्नो सहकारीहरुसँग परस्पर सहयोग, समन्वय र सहकार्यमा कामकारवाही गर्ने र गराउने निर्देशन दिदै ४ दिनसम्म चलेको जनकपुरधाम बैठकमा उठेका विषय, जिज्ञासा र प्रश्नहरुको सम्बन्धमा र वैठक हुन बाँकी रहेका प्रदेशहरुको बैठकमा उठ्नसक्ने त्यस्तै प्रकार र प्रकृतिको जिज्ञासाको सम्बन्धमा फागुन १७ गते पछि हुने केन्द्रीय अध्यक्ष मण्डलको बैठकले विस्तृत निर्णय गरि निर्देशन दिने निर्णय गरिएको हो ।
तपाईको प्रतिक्रिया