प्रदेश २ मा ‘हेल्लो सिएम’ एप सार्वजनिक

राजनीति

10/28/2018

जनकपुरधाम, ११ कार्तिक । प्रदेश २ मा अपराध न्यूनीकरणका लागि ल्याइएको ‘हेल्लो सिएम’ एप सार्वजनिक भएको छ ।

प्रदेश प्रहरी कार्यालयले आइतबार जनकपुरधाममा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले हेल्लो सिएम एप सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राउतले बढ्दै गएको महिला हिंसा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्न हेल्लो सिएम एप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले एपको बारेमा ग्रामीण स्तर सम्म जानकारी गराउने गरि सचेतना मुलक कार्यक्रम संचालन गरिने समेत उल्लेख गरे ।

हेल्लो सिएम एपमा आफु संग भएको घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।

यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरि सके पछि एप लाई अन गरेर आफनो मोबाइल तीन पटक हलाए मात्रै नजिकको प्रहरी काहाँ इमरजेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत जाने व्यवस्था रहेको एपका निर्माता ई.आदित्य राजले जानकारी गराए ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज कुमारसिंह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ