काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिएका छन् ।
उनले भने,‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आइराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भइसकेको छ । यसको लागि हामीले सोच बनाइसकेका छौं ।’
काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार छ कि छैन् ? भनेर खोज्ने अवस्था रहेको टिप्पणी गरे । उनले भने,‘यो सरकार कतैपनि देखिएन । प्रत्येक वर्ष बाढि/पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ ? यो सरकार पाँच वर्ष नै चलोस् भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’
उनले कोरोनाले भन्दा बढि मानिस बाढि/पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेश गरे । उनले भने,‘हजारौं मानिसहरु घरवारविहीन भएका छन् । यसको जिम्मेवारी कसले लिने ? वर्षभरि नै सरकार सुतेर बस्ने हो ? जनताले सुखमा सरकारलाई सम्झिँदैनन्, दुःख पर्दा र आपतविपदमा नै सम्झिने हो नि, अहिले विपदमा सम्झिँदापनि सरकारले केही गर्न सकेको छैन् । यो सरकार कहीँपनि सफल भएको छैन् ।’
उनले सर्वोच्च अदालतले रञ्जन कोइरालाबारे गरेको फैसलाको सम्बन्धमा प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भनेर केही नेताहरुले र सामाजिक सञ्जालमा भएका टिप्पणीको विरोध गरे ।
उनले भने,‘म महाअभियोग लगाउनुपर्छ भन्ने पक्षमा छैन् । कोर्टको निष्पक्षतालाई सबैले मान्नुपर्छ । न्यायमूर्तिहरुलाई विवेक प्रयोग गर्ने कानूनी अधिकार छ । यस सम्बन्धमा पुनरोवलकन गर्ने भनेर निवेदन दर्ता भएको कुरा आएको छ ।’
तपाईको प्रतिक्रिया