काठमाडौं, ११ साउन । पूर्व गृहमन्त्री गोविन्दराज जोशी सहित ३ जना नेतालाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो ।
गत चुनावमा पार्टीका अधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको र पार्टीलाई पराजित गराउन भूमिका खेलेको भन्दै उनीहरुलाई निष्कासन गरिएको हो । जोशीले प्रतिनिधिसभा चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।
कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ सभापतिलाई पत्र लेख्दै पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र संघीय संसदमा जिल्लामा विद्रोही उम्मेदवार बनेका, प्रस्तावक र समर्थकहरु पार्टी सदस्य नरहेको जानकारी दिएको छ ।
यसैबीच जोशी सहितका नेता निष्कासन भएको खबर आएसंगै जोशीका छोराले कांग्रेस पार्टीविरुद्ध अभिव्यक्ति दिएका छन्।
लामो समय अमेरिका बसेर ग्रीन कार्ड र सम्पूर्ण सेवासुविधा त्यागेरै नेपाल आएर हाल शैक्षिक सेवामा रहेका जोशीका छोरा दीपकराज जोशीले सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया दिँदै नेपाली कांग्रेस आमाको फरिया बेचेर वेश्यालाइ पछ्यौरा किनिदिने पार्टी भएको आरोप लगाएका छन् ।
उनले लेखेका छन्,“नेपाली कांग्रेस केबल इन्स्योरेन्स कम्पनी जस्तो भयो, जहाँ केबल एजेन्टहरू मात्र छन् । कम्पनीको मालिक अन्यत्र कतै छ भन्ने प्रमाणित भएको छ ।“
तपाईको प्रतिक्रिया