परिवार दलको “राष्ट्र जागरण अभियान“ धनगढीबाट सुरु

राजनीति

3/4/2019

धनगढी, १८ फागुन । नेपाल परिवार दलले राष्ट्रिय जागरण अभियान २०७५ को औपचारिक रुपमा सुरुवात गरेको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै दलका अध्यक्ष एकनाथ ढकालले शान्ति र विकासका लागि सकारात्मक माहोल बनाउन राष्ट्र जागरण अभियान संचालन गरेको बताए ।

पूर्वमन्त्री समेत रहेका ढकालले राष्ट्रिय एकता, तीव्र विकास, संविधानको प्रभावकारी कार्यान्वयन, असल संस्कार, सुशासन, श्रमको सम्मान, समानता तथा पारिवारिक मूल्यमान्यताको जगेर्ना गर्न राष्ट्र जागरण अभियानले सहयोग गर्ने उल्लेख गरे ।

नेता ढकालले सार्वजनिक सोंच, जबाफदेहिता, अनुशासन र राष्ट्रिय प्रतिभाको विकासमा पनि जागरण अभियान सहयोगी हुने भन्दै बाताबरणको संरक्षण र साधन श्रोतको सहि परिचालनमा सरकारको प्राथमिकता हुनु पर्ने बताए ।

कार्यक्रममा स्वतन्त्र व्यक्तिहरु तथा विभिन्न पार्टी परित्याग गरि १७० जनाले परिवार दलमा प्रवेश गरेका थिए ।

त्यसैगरी परिवार दलले सुदुरपश्चिम प्रदेशको कार्यबाहक संयोजकमा कैलालीका खडक नागरिक र बिद्यार्थी संयोजकमा बैतडीका राम भट्टलाइ जिम्मेवारी दिएको छ ।

दलको कैलाली जिल्ला समन्वयन समितिका अध्यक्ष खडक नागरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम परिवार दलका बिद्धार्थी संयोजक भट्ट, परिवार दल कैलालीको सल्लाहकार अमृत बिकले मन्तब्य राखेका थिए भने नेपाल बिद्धार्थी परिवारका केन्द्रिय अध्यक्ष कमल अधिकारीले कार्यक्रम संचालन गरेका थिए । परिवार दलले देशको विभिन्न भागमा राष्ट्र जागरण अभियान संचालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ