प्रेस जगतको महत्वपूर्ण योगदान : राष्ट्रपति भण्डारी

राजनीति

9/23/2018

काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण योगदान रहेको बताएकी छन् । नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी छन् ।

प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उनले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताएकी छन् ।

उनले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरिन् । ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै आजको प्रमुख दायित्व हो भनिन् ।

उनले राज्यले अगाडि सारेका नीति तथा कार्यक्रमलाई मर्यादित भएर अगाडि बढाउन राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्दै राष्ट्रपतिले राष्ट्रले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकाले त्यसलाई केन्द्रमा राखेर आफ्नो आचारसंहिता तथा मूल्य र मान्यतामा रहेर अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ