जनकपुरधाम, १ असोज । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले पनि संविधान दिवसको विरोधमा ब्ल्याक आउट गर्ने निर्णय गरेको छ ।
फोरम नेपाल मधेश प्रदेश समितिले आइतबार एक विज्ञप्ति जारी गरी संविधान दिवस अर्थात् असोज ३ गते दिनभरि हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने र साँझ ७ बजेदेखि सबा ७ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय गरेको हो ।
मधेश प्रदेश समितिका अध्यक्ष रेणु यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । यसअघि फोरमले न संविधान दिवस मनाउने न कालो दिवस मनाउने एक सांसदले बताएका थिए ।
‘२०७२ साल असोज ३ गते तत्कालीन सरकारले बन्दुकको दम्भमा जबरदस्ती संविधान जारी गरेको घटना शोषित, उत्पीडित एवम् विभेदमा परेका जनताले बिर्सिएका छैनन् ।’ यादवले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
प्राप्त उपलब्धी रक्षा गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्दै अगाडि बढ्ने नीति तथा संविधान संशोधन गरी मधेश लगायत उपेक्षित सबै समुदायको माग पुरा गर्ने भनी सरकारले गरेको प्रतिवद्धता पछि संघीय समाजवादी फोरम नेपाल पनि निर्वाचन र सरकारमा सहभागी भएको उनले प्रष्ट्याएकी छन् ।
प्रतिवद्धता कार्यान्वयनकालागि ध्यानाकर्षणका साथै बलपूर्वक संविधान लागु गरिएको दिन आगामी असोज ३ लाई कालो दिनकै रुपमा मनाउने फोरम नेपाल मधेश प्रदेश समितिको कार्य सम्पादन समितिले निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ । साथै फोरम नेपालबाट प्रतिनिधित्व गर्ने मधेश प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रहसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया