जनकपुरधाम, ११ मंसिर । प्रदेश नं. २ को सरकारले संचालनमा ल्याएको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानलाई नायिका रेखा थापा फाउण्डेशनले प्रोमोट गर्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले छोरीको लागि स्वर्णिम नेपाल कार्यक्रम अन्तर्गत महिला हिंसा तथा बालविवाह विरुद्ध कार्यक्रम संचालन गर्दै आएको फाउण्डेशनले अवको दिनमा बेटी पढाउ बेटी बचाउ कार्यक्रमको समेत प्रोमोट गर्ने बताएका हुन् ।
समाजिक रुपान्तरणको अभियान अन्तर्गत सरकारले ल्याएको बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका रेखा थापाले प्रोमोशन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको बताउँदै मुख्यमन्त्री राउतले अन्य सामाजिक व्यक्तित्वहरुलाई समेत अगाडी आउन आह्वान गरे ।
पत्रकार सम्मेलनमा नायिका रेखा थापाले प्रदेश नं. २ को सरकारले ल्याएको कार्यक्रमले आफुलाई प्रदेश नं. २ मा आउन आकर्षित गरेको उल्लेख गरिन् ।
उनले यस प्रदेशका बालबालिकाले मुख्यमन्त्रीको रुपमा राम्रो अभिभावक पाएको उल्लेख गर्दै यस अभियानको सफलताको लागि आफु र आफनो फाउण्डेशनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
रेखा थापा फाउण्डेशनले अहिले देशव्यापी रुपमा महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया