भ्रष्टाचारको मुहान पार्टीभित्रका शक्तिकेन्द्रहरू नै हुन् : सहअध्यक्ष श्रेष्ठ

राजनीति

2/29/2020

सिन्धुपाल्चोक, १८ फागुन । समाजवादी पार्टीको सिन्धुपाल्चोक जिल्ला समितिको समायोजन सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार बलेफिमा सम्पन्न भएको छ ।

समायोजन कार्यक्रममा श्रेष्ठले देशमा ब्याप्त भ्रष्टाचार, कमिशनतन्त्र र लुटतन्त्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको मिलोमतोमा नै हुने गरेको बताए । उनले मुहान नै धमिलो भए स्वच्छ पानी आउँदैन भन्दै भ्रष्टाचारको मुहान पार्टीभित्रका शक्तिकेन्द्रहरू नै भएको बताए ।

समाजवादी पार्टी पहिचान सहितको सङ्घीयता, सुशासन र समतामुलक समृद्धिका लागि स्थापित भएकाले यसप्रतिको आकर्षण दिनानुदिन बढ्दै गइरहेको बताउँदै उनले हरेक क्षेत्रमा वैचारिक विकल्प दिएको बताए ।

उनले नेकपाको जनताको जनवाद र काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद दुबै मौलिक रूपमा ए्कात्मक राज्य प्रणालीमा आधारित भएको तथा संघीयता र समानुपातिक समावेशीकरणको मूल्य मान्यतालाई पक्षपोषण नगरेको हुँदा त्यसले जातीय उत्पीडनको अन्त्य गर्न, सीमान्तकृत समुदायहरूलाई मूल धारमा ल्याउन तथा देशमा सुशासन र समृद्धि ल्याउन नसक्ने बताए । 

प्रमुख अतिथि श्रेष्ठले नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा एकात्मक शासन प्रणालीले एकल जातीय शासन निम्त्याएको बताउँदै त्यस्तो राज्यमा समाजवादले वर्गीय समस्या हल गरे पनि जातीय उत्पीडनको समस्या हल गर्न नसक्ने भएकोले विश्व मानव समुदायले आविस्कार गरेका पछिल्लो ज्ञान र चेतनामा आधारित संघीय शासन प्रणालीसहितको समाजवाद आवश्यक रहेको बताए ।

उनले आफ्नो पार्टीले नेपाली समाज परिवर्तनको सिद्धान्तको रूपमा समुन्नत संघीय समाजवाद अगाडी सार्नुको कारण वर्गीय, जातीय, क्षत्रीय र लिंगीय सबै समस्या हल गर्नका लागि भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ