मुख्यमन्त्रीदेखि मन्त्रीहरुका कारण प्रदेश असफलताको बाटोमा जाँदैछ

राजनीति

3/12/2020

० प्रदेश २ को नामाकरणका लागि प्रदेशसभाको बैठक बस्दैछ, कस्तो तयारी छ ?

— प्रदेश २ को स्थायी राजधानीमा लगभग सबैको सहमति जुटिसकेको छ भने नामांकनको बारेमा अहिलेसम्म सहमति हुन सकेको छैन । प्रतिपक्षले पनि नामांकनको सन्दर्भमा हामीलाई सहयोग गर्ला कि भन्ने प्रयास भइरहेको छ । प्रदेशसभाको बैठक आज शुक्रबारका लागि बोलाइएको छ तर, त्यो बैठक सर्न सक्छ । किनभने गत आर्थिक वर्षमा उपभोक्ता समितिहरुमार्फत भएको कामको भुक्तानी प्रदेश सरकारले अहिलेसम्म दिन सकेको छैन । जबसम्म ती उपभोक्ता समितिहरुको भुक्तानी हुँदैन तबसम्म सत्तापक्ष वा प्रतिपक्षका सांसदहरुले प्रदेशसभा चल्न दिँदैन ।

० आजका लागि बोलाइएको बैठक पनि अनिश्चित नै छ ?

— आजको बैठक पनि बस्छ कि बस्दैन भन्ने निश्चित छैन । आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । हामी बैठकमा उपस्थित भई बहिष्कार गरेको घोषणा गर्छौं ।

० प्रदेशको नामाकरण पहिलो प्राथमिकतामा हुनुपर्ने, तर सत्तारुढ दलकै सांसदहरुले अवरोध गर्दा नामको टुंगो कसरी लाग्छ त ?

— प्रदेशकै जनताका कारण नेपालमा संघीयता आएको छ । तर प्रदेश २ को सरकार पूर्णरुपमा असफल भइसकेको छ । प्रदेश २ कै सरकारका कारण संघीयता असफल पनि हुन्छ भन्ने अवस्थाको सिर्जना हुँदैछ । सदनले उपभोक्ता समितिहरुको भुक्तानी दिन पास गरिसके पनि सरकारले दिन सकिरहेको छैन । यो कुरा प्रदेशका लागि लाजमर्दो विषय हो ।

० तपाइँहरु सत्तारुढ हुनुहुन्छ, तपाइँहरु पनि असफल भइसक्नुभयो नि ?

— हामी पनि यो सरकारमा रहेकोले यो असफलताको अपजस त हामीले पनि लिनुपर्ने नै हुन्छ । सत्तापक्षकै सांसदहरुले यदि संसद अवरुद्ध गर्छ भने यो भन्दा लाजमर्दो कुरा अन्य के हुन्छ । संसदले जुन कुरा पास गरिसकेको छ र लागू हुँदैन भने संसदको मर्यादाको विपरीत भयो । सदनले पास गरेको कुरा सरकारले नै मान्दैन भने अन्य कसले मान्छ त ? यस प्रदेशका जनता कति पीडित छन् त्यो हेर्नुप¥यो नि ।

० राजपा र समाजवादी असफल भइसकेपछि प्रदेश २ मा पनि नेकपाकै सरकार आवश्यकता महसुस हुन थाल्यो ?

— यहाँको सरकारलाई मधेशी जनताले म्यान्डेट दिएको हो । मधेशी जनताले बनाएको सरकार हो प्रदेश २ मा । अहिले पनि मधेशी जनताले प्रदेश २ मा मधेशी दलकै सरकार होस् भन्ने चाहिरहेका छन् । तर, सरकारमा बस्ने मुख्यमन्त्रीदेखि सबै मन्त्रीहरुका कारण प्रदेश असफलताको बाटोमा जाँदैछ । अहिले प्रदेश २ का सरकारमा रहेका सबैलाई परिवर्तन गर्नुपर्ने अवस्था छ । यिनीहरु आफैले गर्न सकेनौं भनेर राजीनामा दिनुपर्ने हो । त्यसपछि नयाँ अनुहारलाई ल्याएर प्रदेशको कामकारबाही अगाडि बढाउनुपर्छ । चालु आर्थिक वर्षको आठ महिना बितिसक्यो तर विकास खर्च १० प्रतिशत पनि गर्न सकेको छैन । अहिले प्रदेशको खर्च तलबभत्तामा मात्रै गइरहेको छ । बाँकी अहिलेसम्म प्रदेशमा केही भएको छैन । भोली हामी फेरि चुनावको बेला कुन मुख लिएर मधेशी जनतासँग मत माग्न जाने ? यस्तै रवैया रह्यो भने मधेशी जनताले अब हामीलाई विश्वास गर्ने अवस्था रहँदैन ।

० भनेपछि अब प्रदेशसँग विकल्प के छ त ?

— अब प्रदेश २ सँग एउटा मात्र विकल्प छ, मुख्यमन्त्रीदेखि मन्त्रीहरु सबै परिवर्तन गर्नुपर्छ । अहिलेसम्म २०७५/७६ कै बजेटमा सरकार अल्झिएको छ, २०७६/७७ को बजेट चलाउन सकेकै छैन । यस्तो अवस्थामा प्रदेश सरकारको नेतृत्व गरिरहेकाहरुले आफै राजीनामा दिनुपर्ने थियो । सरकारमा बस्नेहरुले सधैंका लागि मन्त्री भएँ भन्ने सोचाइ हाला ।

० आफ्नो सरकार असफल भइरहँदा पार्टी नेतृत्वले किन गम्भीर छैन त ?

— ६ जनाको नेतृत्वमा राजपा चलिरहेको छ । आफ्नै पार्टीको सरकार असफल भइरहँदा हाम्रा पार्टीका नेतृत्व गम्भीर हुनुपर्ने हो, तर अहिलेसम्म देखिएको छैन । समाजवादी र राजपाका नेतृत्ववर्ग बसेर प्रदेश २ को सरकारको समीक्षा गर्नुपर्ने थियो, काम गर्न नसक्नेहरुलाई हटाएर नयाँ अनुहार पठाउनुपर्ने थियो । तर, त्यसप्रति नेतृत्वपंक्तिको कुनै सरोकार देखिएको छैन ।

० प्रदेश २ को सरकारमा नेकपाले यदि दाबी ग¥यो भने राजपाले साथ दिन्छ ?

— हामी नेकपा नेतृत्वको सरकार चाहँदैनौं । मधेशमा मधेशी दलको सरकार होस् भनेर मधेशी जनताले म्यान्डेट दिएका छन् । प्रदेश २ मा राजपा र समाजवादीकै संयुक्त सरकार हुनुपर्छ तर नेतृत्वकर्ताहरुलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ । हामीले सत्ता समीकरण परिवर्तन चाहेका छैनौं, अनुहार मात्रै परिवर्तन चाहेका छौं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ