सप्तरी, ६ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सप्तरीको कञ्चनपुरमा फैलिएको भाइरल फ्लुबारे स्थलगत निरिक्षण गरेका छन् ।
भाइरल फ्लुका कारण सप्तरीको कञ्चनपुरमा ४ जनाको मृत्यु हुनुका साथै दर्जनौ प्रभावित भएपछि मुख्यमन्त्री राउत सहितको टोलीले कंचनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत निरीक्षण गर्दै रोगको अवस्था, नियन्त्रणकालागि हुँदैआएको प्रयास, औषधीको मौजुदा अवस्था लगायतका विषयमा जानकारी लिएका छन् ।
निरीक्षण पश्चात मुख्यमन्त्री राउतले भाइरल फ्लुको प्रकोपबाट मृत्यु भएका वडा नम्वर ७ का १३ वर्षीय दिवश बस्नेत, वडा नम्वर ३ का १४ वर्षीय किशोरकुमार राम, ९ का १४ वर्षीय आमोद राम र सोहि ठाउँका ६० वर्षीया भालसैरदेवी सरदारको परिवारलाई जनही २ लाख रुपैयाँको चेक समेत प्रदान गरेका छन् ।
राहत स्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले औषधी लगायत रोग नियन्त्रणका लागि १५ लाख रुपैयाँ स्वास्थ्य संस्थालाई उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरि सकेको र एक दुई दिन भित्रै सो रकम स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने बताए । उनले रोगको नियन्त्रणमा भूमिका खेलेका स्वास्थ्यकर्मी लगायत सम्बन्धित पक्षहरुलाई धन्यवाद समेत दिए ।
तपाईको प्रतिक्रिया