जनकपुरधाम, ८ पुस । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आँखाको उपचार सम्बन्धि सेवा परिणात्मकका साथै गुणात्मक समेत हुनु पर्नेमा जोड दिएका छन् ।
१२औं पूर्वक्षेत्रीय नेत्र सम्मेलनको शुक्रबार सिरहाको लहानस्थित सगरमाथा चौधरी अस्पतालमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले आँखा उपचारको सेवामा नेपालले ठूलो फडको मारे पनि यसलाई अझै गुणात्मक बनाउनु पर्नेमा जोड दिएका हुन् ।
उनले समाजको हरेक तप्कासम्म आँखा उपचारको सेवालाई पु¥याउन पर्नेमा जोड दिँदै यसका लागि प्रदेश सरकारले गर्न सक्ने हरेक प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
मुलुकको मात्र नभई विश्वको तेस्रो अस्पतालमा रहेको सगरमाथा चौधरी अस्पताल प्रदेश नं. २ का लागि गौरवको विषय रहेको उल्लेख गर्दै उनले अस्पताललाई अझ परिस्कृत गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
एक फरक प्रसंगमा मुख्यमन्त्री राउतले बेटी बचाउ बेटी पढाउअन्तर्गत माघ १ गतेदेखि जन्मिने बालिकाहरुका लागि प्रदेश सरकारले बीमा गर्न लागेको जानकारी गराए ।
उनले पहिलो चरणमा आठ वटै जिल्लाबाट दलितहरुको बाहुल्यता रहेको एक एक पालिकालाई छनौट गरेर बीमा कार्यक्रम संचालन गरिने उल्लेख गरे ।
उनले अगामी आर्थिक वर्षबाट यो योजना प्रदेशभरि नै लागू गर्ने योजनामा आफूहरु रहेको खुलासा समेत गरेका छन् ।
प्रतिनिधिसभा सदस्य एवं नेत्र ज्योति संघ सिरहाका अध्यक्ष पद्मनारायण चौधरीको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष तीर्थ प्रसाद मिश्र, पूर्वाञ्चल क्षेत्रीय आँखा कार्यक्रमका निर्देशक डा. श्याम पोखरेल, डा. संजय सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया