जनकपुरधाम, १९ पुस । प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिका लागि प्रक्रिया थालेको छ ।
संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेशसभामा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाएका छन् ।
त्यसैगरी प्रदेश सरकारले माघ १ गते मकर संक्रान्ति (माघी)ं पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
त्यस्तै मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
२०६३ साल माघ ५ गते मधेश विद्रोहको क्रममा सिरहाको लहानमा रमेश महतोले सहादत दिएको दिनलाई मधेशमा बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया