जनकपुरधाम, १९ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी मंसिरमा जनकपुर आउने भएका छन् ।
भारत सरकारको सहयोगमा निर्माण हुन लागेको जयनगर–कुर्था–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न भारतीय प्रधानमन्त्री मोदी मंसिर १२ गते जनकपुर आउन लागेका हुन् ।
यो भ्रमणमा उनी काठमाडौं नजाने बताइएको छ । भ्रमणको तयारीका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीसहित दिल्लीबाट आएको एड्भान्स टोली जनकपुर गएर निरिक्षण गरेको छ ।
मोदी मंसिर १२ मा जनकपुर आएर मंसिर १३ मा पटना फर्किने कार्यक्रम छ । प्रधानमन्त्री मोदी एकरात जनकपुरमै बस्ने सम्भावना भए पनि तय भइसकेको छैन ।
भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा नेपाली समकक्षी केपी ओलीलाई जयनगर–जनकपुर–बर्दिबास रेल्वेको पहिलो खण्ड हस्तान्तरण गर्ने कार्यक्रम छ ।
भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल्वे लाइन कात्तिकसम्म तयार हुँदै छ । दुई देशका प्रधानमन्त्रीले रेलमार्गको संयुक्त उद्घाटन गर्नेछन् ।
तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका वेला सन् २०१० मा दुई सरकारबीच भारतले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।
तपाईको प्रतिक्रिया