‘मधेशले अलग राष्ट्रको माग गर्न सक्छ’

राजनीति

9/21/2018

वीरगञ्ज, ४ असोज । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले मधेशप्रति सरकारको अझै पनि विभेदकारी नीति रहेको आरोप लगाएका छन् ।

संविधान जारी भएको असोज ३ गते वीरगन्जमा आयोजित ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मधेशी, आदिवासी जनजाति, मुस्लिमलाई उसको भाषा, संस्कृति, पहिचान, नागरिकतालगायतमा विभेद अहिले पनि विभेद भइरहेको बताए ।

उनले भने, ‘नश्लवादी सोच, विचार र दृष्टिकोणले केही खास समुदायका अनुहारले देशमा शासन गर्न संविधानलाई आफू अनुकुल बनाएर जारी गरिएको छ । त्यसैले संशोधन नभएसम्म हामी संघर्ष गरिहन्छौं ।’ सरकारले मधेशी दलहरूसँग गरेको सबैखाले सम्झौता र सहमति उल्लंघन गरेको पनि उनले दाबी गरे ।

ठाकुरले मधेशको माग समयमै संबोधन हुन नसके अलग मधेशको माग पनि उठ्न सक्ने चेतावनी दिए । महाभारतको प्रसंग जोड्दै उनले पाण्डवले पाँच गाउँ माग्दा कौरवले पुरै राज्य नै गुमाउनु परेको चर्चा गरे ।

‘यदि मधेशका माग र असन्तुष्टि समयमै सम्बोधन हुन सकेन भने मधेशले छुट्टै देशको पनि माग गर्न सक्छ,’ ठाकुरको भनाइ थियो । बुहदलीय प्रजातन्त्र पछि हरेक प्रधानमन्त्रीले मधेशी दलसँग पटक–पटक सम्झौता र सहमति गर्दै आएको भए पनि उक्त सहमति र सम्झौता कार्यान्वयनमा धोका दिएको आरोप ठाकुरले लगाए ।

मधेशीबाट खोसिएका हक अधिकार नपाएसम्म मधेशमा संविधानविरूद्ध संघर्ष जारी नै रहने उनको भनाइ छ । एक प्रसंगमा उनले सीके राउतसँग सहकार्यका लागि छलफल भएको खुलासा गर्दै तर राउत आफूहरूको धारमा आउन तयार नभएको बताए । उनले सहकार्यका लागि राउतसँग छलफल भएपनि कुरा नमिलेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ