मधेशी तथा आदिवासी जनजाति कानून व्यवसायीहरुले भने, ‘कुहिएको संविधान छिट्टै रद्दीको टोकडीमा जान्छ’

राजनीति

9/19/2018

काठमाडौं, ३ असोज । मधेशी तथा आदिवासी जनजाति कानून व्यवसायी संघ (मिला)ले संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको छ ।

मिलाले बुधबार मधेश मिडिया हाउसमा आयोजना गरेको ‘कपटपूर्ण संविधानको तेस्रो वर्ष’ विषयक छलफल कार्यक्रममा कानून व्यवसायीहरुले यस्तो धारणा राखेका छन् ।

मिलाका अध्यक्ष मनोहर साहले एकातिर मधेशमा लाश जलिरहेको थियो र अर्कोतिर शासकवर्गले दीपावली गर्दै संविधान जारी गरिरहेको स्मरणमा असोज ३ लाई कालो दिनकै रुपमा मनाइने बताए ।

उनले यो संविधानलाई संशोधन नगरेसम्म केही दिनभित्रै खारेज हुने दाबीसमेत अध्यक्ष साहले गरेका छन् । संविधान जारी भएको तीन वर्ष भइसक्दा पनि ८२ प्रतिशत आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारुले स्वीकार गर्न नसकेको बताए ।

यो संविधानलाई कुहिएको संविधान रहेको संज्ञा दिँदै अधिवक्ता विकास कुमार ठाकुरले संशोधन नगरे केही दिनभित्रै खारेज हुने र पुनः नयाँ संविधान बनाउनुपर्ने अवस्था सिर्जना हुने दाबी गरे ।

उनले नयाँ बन्ने संविधानमा पनि शोषित पीडितहरुले आफ्नो अधिकार पाउने वा नपाउने भन्नेमा आशंका रहेको बताए । अब नयाँ संविधान बनाउनुपर्ने बेला आइरहेको उनले जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ