मन्त्रीबाट सचिवमाथिको आक्रमण संघीयता नै समाप्त गर्ने षडयन्त्र : नेता जोशी

राजनीति

1/16/2019

जनकपुरधाम, २ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव माथिको आक्रमण लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको बताएका छन् ।

राष्ट्रसेवक कर्मचारीको रक्षा गर्ने दायित्व लिएका सरकारका मन्त्रीबाट सचिवमाथिको आक्रमण संघीयता नै समाप्त गर्ने षडयन्त्र भएको उनले आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता जोशीले चाहे त्यो मन्त्री नै किन नहोस् संघीयता तथा प्रजातन्त्रमा कसैको अभिव्यक्ति स्वतन्त्रता दबाउनका लागि हातपात गर्ने स्वतन्त्रता कसैलाई पनि नरहेको बताए ।

उनले भने ‘जसरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि हातपात गरेका छन् त्यो आपत्तिजनक छ ।’

देशमा संघीयता आइसकेपछि सबैको काँधमा संघीयता कार्यान्वयन गर्ने अभिभारा रहेकोले यस प्रकारको कृयाकलापले संघीयतालाई खतरामा पुर्याएको उनको भनाई थियो ।

नेता जोशीले देशमा कम्युनिष्ट सरकार रहेसम्म देशले दुःख पाइरह्ने दावी गरे । उनले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि कांग्रेस आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका धनुषाका सभापति महेशशंकर गिरीले नेपाली कांग्रेस प्रदेश नं. २ सचिवमाथि भएको घटनालाई जोडका साथ उठाउने बताएका छन् ।

मन्त्रीद्वारा राष्ट्रसेवक कर्मचारीमाथि हातपात निन्दनीय रहेको उनले बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उपसभापति संतोष यादव, सचिव विशेश्वर यादव, नेपाली कांग्रेसका नेता गणेश तिवारी, युवा नेता प्रफुल्ल राज घिमिरे, प्रवेश चौधरी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ